रोमाञ्चक जितसँगै सुदूरपश्चिम रोयल्स फाइनलमा, चितवन बाहिरियो
चितवन राइनोजमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अन्तिम ओभरसम्म तानिएको प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिमले १ बल बाँकी छँदै १३६ रन बनाएर उपाधि भिडन्त पक्का गरेको हो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको मध्यम योगफल तयार पारेको थियो ।
चितवनका लागि ओपनर डेविड मलानले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । ५१ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गर्न सफल भए । यस्तै, सलाहुद्दिन खानले १६ बलमा १८ तथा कमल ऐरीले ८ बलमा १० रन जोड्नुबाहेक चितवनका अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । देव खनाल ६ र क्यामिल मिसरा ४ रनमै पभेलियन फर्किएका थिए ।
चितवनलाई सस्तैमा समेट्न बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले सर्वाधिक ३ विकेट लिएका हुन् । थारिन्दु रत्नायकेले २ विकेट झारे भने हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान १–१ विकेट हात पारेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस