संविधान संशोधन नगरी चुनावमा गए मुलुकले निकास पाउँदैन : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी हुने निर्वाचनले मुलुकलाई दीर्घकालीन निकास दिन नसक्ने बताएका छन् ।
सोमबार दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसङ्ख्यक समुदायहरूको परिसङ्घ (डोटिम) ले आयोजना गरेको कार्यक्रममा उनले विगतमा सबै वर्ग र समुदायको भावना समुचित रूपमा सम्बोधन हुन नसक्दा देश निरन्तर अस्थिरताको चक्रमा फसेको धारणा व्यक्त गरेका थिए ।
अध्यक्ष यादवले संविधान संशोधन र परिमार्जन मात्र पर्याप्त नभई आवश्यकता अनुसार पुनर्लेखन समेत अपरिहार्य रहेको बताए । “संविधानको उपचार नगरी अहिलेको अवस्थामा चुनावमा गए मुलुकका समस्या ज्यूँका त्यूँ रहनेछन्,” उनले भने, “त्यसैले पुनः समस्या नदोहरिने गरी संविधानमा आवश्यक सुधार गर्नुपर्छ ।”
कार्यक्रम डोटिम परिसङ्घका अध्यक्ष चन्देश्वर पासावानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि परिवर्तनलाई थप संस्थागत गर्न मुलुकका मूलभूत समस्याको पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस