बालेन–रवि भेटवार्ता सकारात्मक, के छ रणनीतिक छलफल?
बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने गरी सहकार्य गर्ने प्रस्ताव आएको दाबी
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच लगातार दोस्रो दिन भेटवार्ता भइरहेको छ । कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको निवासमा जारी भेटवार्ता तीन घन्टाभन्दा बढी समयदेखि चलेको स्रोतले जनाएको छ ।
भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने, उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम शाह सहभागी छन् भने बालेनतर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी छन् । राजनीतिक सहकार्य, भावी रणनीति र आउँदो निर्वाचन केन्द्रित विषयमा छलफल भइरहेको जनाइएको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएपछि लामिछानेले पछिल्ला दुई दिनमा मेयर बालेनसँग दोस्रो पटक भेट गरेका हुन् । उनीहरूबीच पहिलो भेट आइतबार भएको थियो ।
बालेन निकट स्रोतका अनुसार फागुन २१ गते तोकिएको आमनिर्वाचनलाई केन्द्रमा राख्दै सहकार्यको प्रस्तावमा छलफल भइरहेको छ । उक्त स्रोतले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने गरी सहकार्य गर्ने प्रस्ताव आएको दाबी गरेको छ । यसका लागि बालेनसमेत संलग्न ‘देश विकास पार्टी’ र रास्वपाबीच एकीकरण गर्ने र एकीकृत पार्टीको नाम रास्वपा नै राख्ने प्रस्तावसमेत छलफलमा आएको बताइएको छ ।
यद्यपि रास्वपा स्रोतले बालेनसँग सहकार्यबारे छलफल भइरहेको स्वीकार गरे पनि यति विस्तृत प्रस्तावमा ठोस कुराकानी नभएको जनाएको छ ।
जेन–जी आन्दोलनमा भएको विध्वंशका बारे मेयर बालेनसँग २ घण्टा बयान
यसैबीच रास्वपाका नेता तथा पूर्वसांसद शिशिर खनालले काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सार्न सकिने संकेत दिएका छन् । कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठसँगको अन्तर्वार्तामा खनालले पार्टी सभापति रवि लामिछाने स्वाभाविक उम्मेदवार भए पनि वैकल्पिक पात्रका रूपमा कुलमान घिसिङ र बालेन शाहको नामसमेत चर्चामा रहेको बताएका थिए ।
रास्वपाका प्रवक्ता मनीष झाले पनि विभिन्न राजनीतिक समूहसँग सहकार्यका विषयमा संवाद भइरहेको पुष्टि गरेका छन् ।
लामिछाने पुस ४ गते भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर जेलमुक्त भएका हुन् । त्यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सशर्त रिहा गर्न आदेश दिएको थियो ।
थुनामुक्त भएसँगै लामिछानेलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने कानुनी बाटो खुलेको छ । यद्यपि मुद्दा विचाराधीन रहेकाले उनी निर्वाचित भए पनि सांसदका रूपमा काम गर्न र मन्त्री बन्न पाउने छैनन् । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार मुद्दा दर्ता भइसकेपछि पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
धरौटीमा रिहा भएलगत्तै लामिछानेले राजनीतिक गतिविधि तीव्र पारेका छन् । काठमाडौं फर्किएपछि उनले जेन–जी आन्दोलनका घाइते र शहीद परिवारसँग भेट गरेका थिए भने आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गरेका थिए ।
रास्वपाका एक पदाधिकारीका अनुसार पार्टीले विभिन्न दल र समूहसँग सहकार्यका लागि संवाद गरिरहेको छ । “करिब १० वटा दल तथा समूहसँग कुराकानी भइरहेको छ । अबको एक–दुई दिनमै केही नयाँ राजनीतिक संकेत देखिन सक्छ,” ती पदाधिकारीले भने ।
बालेन–रवि भेटवार्तालाई आगामी निर्वाचन र नयाँ राजनीतिक समीकरणतर्फ केन्द्रित महत्वपूर्ण संवादका रूपमा हेरिएको छ, यद्यपि हालसम्म कुनै ठोस निष्कर्ष भने ननिस्किएको स्रोतले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस