जेन–जी आन्दोलनमा भएको विध्वंशका बारे मेयर बालेनसँग २ घण्टा बयान
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे सोमबार राष्ट्रिय मानवअधिकार आयोगमा उपस्थित भएर बयान दिएका छन् ।
आयोगको बोलावटमा शाह आयोग पुगेका हुन् । आयोग स्रोतका अनुसार करिब दुई घन्टा चलेको सोधपुछमा आन्दोलनका दिन मेयर शाह कहाँ थिए, सामाजिक सञ्जालमा सार्वजनिक गरेका अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयलगायत प्रश्न गरिएको थियो । यद्यपि शाहले दिएका जवाफहरू सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले विस्तृत विवरण खुलाएको छैन ।
राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मानवअधिकार हनन, दमन र बल प्रयोगका विषयमा छानबिन गरिरहेको छ । आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले हालसम्म १४६ जनाको बयान लिइसकेको आयोगले जनाएको छ ।
आन्दोलनका क्रममा भएको मानवअधिकार हनन, प्रहरीको बल प्रयोग, पारदर्शिता, जवाफदेहिता र दण्डहीनताका विषयलाई आधार बनाएर छानबिन भइरहेको र प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगका सहसचिव तथा प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।
यसैबीच, भदौ २३ र २४ का घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरेको छ । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार उनीहरूलाई दुई–तीन दिनको म्याद दिएर पत्र पठाउने तयारी भइरहेको छ ।
मानवअधिकार आयोगले मेयर शाहसँग बयान लिएको भए पनि जाँचबुझ आयोगले हाललाई उनीसँग बयान लिने आवश्यकता महसुस नगरेको प्रवक्ता शर्माले बताएका छन् ।
उता, मानवअधिकार आयोगले जेन–जी आन्दोलनबारे छुट्टै अनुसन्धान टोली बनाएर छानबिन अघि बढाइरहेको जनाएको छ । “आवश्यकताअनुसार सबै पक्षलाई बोलाएर अनुसन्धान भइरहेको छ,” प्रवक्ता पोखरेलले भने । त्यसै क्रममा मेयर शाहलाई बयानका लागि बोलाइएको आयोगका एक उच्च अधिकारीले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस