रवि लामिछाने र बालेन साहको गोप्य भेटले राजनीतिक दूरी घट्यो त?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको नेताहरूले बताएका छन् ।
सोमबार राति काठमाडौँस्थित असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको हो । भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएको बताइएको छ । भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि आपसी समझदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता र सम्भावित राजनीतिक सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ । पछिल्लो समय देखिएको राजनीतिक दूरी घटाउने प्रयासका रूपमा पनि यस भेटलाई हेरिएको छ ।
भेटको समन्वय गरेका रास्वपा नेता असिम साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’



तपाईको प्रतिक्रिया दिनुहोस