Techie IT
२०८२ पौष ११, शुक्रबार

बाँचुन्जेल सांसद–मन्त्री बन्ने राजनीति तोड्नुपर्छ : विश्वप्रकाश शर्मा


विश्वप्रकाश शर्मा, महामन्त्री (नेपाली कांग्रेस )

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू उम्मेदवार नबनी देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको पक्षमा खटिने घोषणा गरेका छन्।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले आगामी निर्वाचन नलड्ने स्पष्ट घोषणा गरेका हुन्। उनले नेपालको राजनीतिमा जरो गाडेर बसेको ‘बाँचुन्जेल क्षेत्र कब्जा गर्ने र सास रहेसम्म मन्त्री बन्ने’ प्रवृत्ति तोड्न आवश्यक रहेको बताएका थिए ।

‘आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त ठिकै भयो, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्को तहमा भए पनि उम्मेदवार बन्नैपर्ने हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ,’ शर्माले बैठकमा भने।

उनले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यसपटक उम्मेदवार नबनी अन्य नेताहरूलाई अघि सार्ने निर्णय गरेको बताए।

‘म तीन पटकसम्म उम्मेदवार बनिसकेकोले यसपटक आफू उम्मेदवार नबनी अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव लिएर क्षेत्रमा गएको जानकारी गराउँछु,’ शर्माले बैठकमा स्पष्ट पारे।

थप स्पष्ट गर्दै उनले भने, ‘गत निर्वाचनमा म आफ्नै क्षेत्रमा सीमित थिएँ, यो पटक भने देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु।’

शर्माले कांग्रेसलाई चुनावमा अनुहार परिवर्तन गरेर अघि बढ्नुपर्ने सुझाव पनि दिएका थिए । ‘मेरो आग्रह छ - चुनावमा अनुहार बदलौं, सकेसम्म धेरै युवा र नयाँ साथीहरूलाई अवसर दिऔं,’ उनले भने। पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको थियो। तर सिफारिसप्रति धन्यवाद दिँदै शर्माले उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका हुन्।

उनले हिजोमात्र झापामा आयोजित क्षेत्रीय भेलामै इच्छुक नेताहरूलाई उम्मेदवारी दाबी गर्न आह्वान गरेको कुरा पनि बैठकमा सुनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट