एमसीसी अन्तर्गतको न्यू बुटवल – दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको न्यू बुटवल–न्यू दमौली ४०० केभी विद्युत् प्रसारण लाइन निर्माण कार्य सुरु भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले तनहुँ र पाल्पा खण्डबाट प्रसारण लाइन निर्माणको काम औपचारिक रूपमा अघि बढाएको हो ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत बन्ने कुल ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये यो खण्ड ९० किलोमिटरको हुनेछ । यस खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी चार जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिने एमसीए–नेपालले जनाएको छ ।
४०० केभी क्षमताको डबल सर्किटयुक्त यो प्रसारण लाइनले देशको विद्युत् प्रसारण पूर्वाधार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजना सम्पन्न भएपछि विभिन्न जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहज हुनुका साथै मुलुकको समग्र ऊर्जा सुरक्षा र आपूर्ति प्रणाली थप भरपर्दो र सबल बन्ने विश्वास लिइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस