Techie IT
२०८२ पौष १३, आइतबार

रवि–बालेन ७ बुँदे सहमतिमा किन छुटे कुलमान ?


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सातबुँदे एकता सहमति भएको छ। तर पछिल्लो समय एकताका लागि निरन्तर संवादमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक तथा भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङ भने यो सहमतिबाट बाहिरिएका छन्।

रास्वपा र बालेन पक्षसँग निरन्तर सम्पर्कमा रहे पनि कुलमान घिसिङले आफ्नो पार्टीको अस्तित्व मेटिने गरी कुनै पनि एकता नहुने अडान लिँदै आएका थिए। उनले नयाँ राजनीतिक शक्तिहरूबीच एकता आवश्यक भए पनि सबैको अस्तित्व, पहिचान र सम्मान सुनिश्चित हुनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए।

एकतापछि बन्ने पार्टीको नाम, नेतृत्व र जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै घिसिङ सहमति प्रक्रियामा सहभागी नभएको उनीनिकट स्रोतहरू बताउँछन्। यद्यपि रास्वपा र बालेन पक्षका नेताहरूले कुलमानसँग भविष्यमा पनि एकताको सम्भावना कायम रहेको दाबी गर्दै आएका छन्।

रवि–बालेनबीच भएको सहमतिमा ‘अन्य परिवर्तनकामी, सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई सहकार्यका लागि आव्हान गर्ने’ उल्लेख गरिएको छ। यही बुँदालाई आधार मानेर कुलमान घिसिङलगायत अन्य वैकल्पिक शक्तिसँग पनि एकता प्रयास हुने नेताहरूको भनाइ छ।

तर पटक–पटक र लामो संवादपछि अन्ततः कुलमान घिसिङलाई बाहिरै राखेर आइतबार उज्यालो नहुँदै रवि लामिछाने र बालेन शाहबीच एकता सहमति भएको हो। सातबुँदे सहमतिअनुसार पार्टीको नाम र नेतृत्व रास्वपाकै रहनेछ भने भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनेछन्।

अन्तिम सहमतिमा छुटे कुलमान
यो सहमतिपत्रमा हस्ताक्षर हुनु अघिसम्म मध्यरातसम्मको छलफलमा कुलमान घिसिङ पनि सहभागी थिए। तर अन्तिम सहमतिमा उनी किन अटाएनन् भन्ने प्रश्न अहिले राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

नक्खु कारागारबाट रिहा भएपछि घिसिङलाई रास्वपामा ल्याउने विषयमा सभापति लामिछानेसहित पार्टी नेताहरूले समेत चासो देखाएका थिए। बालेन शाहको चाहना अनुसार कुलमानलाई रास्वपाको कार्यकारी सभापति बनाएर चुनावमा जाने प्रस्ताव समेत अघि सारिएको थियो।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछाने २०८१ कात्तिक २ गतेदेखि नक्खु कारागारमा रहेका बेला रास्वपाको नेतृत्व कुलमानलाई दिएर चुनावमा जाने योजना बालेन पक्षको थियो। सोहीअनुसार बालेनका विश्वासपात्र कुमार बने नक्खु कारागार पुगेर कुलमानलाई सभापति बनाउने प्रस्ताव रविसमक्ष लगेका थिए।

तर उक्त प्रस्ताव रविले अस्वीकार गरे। त्यसपछि कार्यवाहक सभापति बनाउने विकल्प समेत अघि सारिए पनि त्यसमा पनि सहमति जुट्न सकेन।

रविले पार्टी कब्जा गर्ने प्रयासका रूपमा हेरेपछि कुलमान घिसिङले अनुप उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराए। हाल सो पार्टी देशभर संगठन विस्तारमा जुटिरहेको छ र पार्टी प्रचारमा कुलमान स्वयं सक्रिय छन्।

शनिबार बालेनसँगको भेटपछि कुलमानले पहिलोपटक सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’ भन्ने टिप्पणी गरेका थिए। उनले सबै पक्षले जनताको चाहना बुझेर, सबैको अस्तित्व स्वीकार्ने गरी मात्र एकता दीगो हुने बताएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट