Techie IT
२०८२ पौष १७, बिहीबार

कांग्रेसमा शक्ति संघर्ष चर्कियो : नियमित महाधिवेशन रोक्दै विशेष महाधिवेशनतर्फ थापा-शर्मा


नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेका छन्।

बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएकाले त्यसलाई स्थगित गरिएको जानकारी दिएका हुन्। उनीहरूका अनुसार अब विकल्पका रूपमा विशेष महाधिवेशन मात्र बाँकी रहेको छ।

विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचनामार्फत नियमित महाधिवेशन स्थगित गरिएको उल्लेख छ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्था आएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको विज्ञप्तिमा भनिएको छ।

पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयको भएको र सो जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिमा अगाडि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ।

जारी विज्ञप्तिअनुसार महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको छ। हालसम्म ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भइसकेको छ।

बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कुल नवीकरण संख्या करिब ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

यसअघि कांग्रेसको १५औँ महाधिवेशन यही पुस २६, २७ र २८ गते गर्ने निर्णय गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट