एनपीएलमा अनलाइन सट्टेबाजी: लमहीबाट ४ भारतीयसहित ५ जना पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी (बेटिङ) गराएको आरोपमा चार भारतीय नागरिकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीका अनुसार दाङको लमही नगरपालिका–५, रातोडाँडास्थित जस्मिन होटल एन्ड लजबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । होटलको तेस्रो तलामा रहेका २०३ र २०४ नम्बरका कोठा भाडामा लिएर अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले शुक्रबार साँझ ७:३० बजे छापा मारेको थियो ।
खानतलासीका क्रममा अवैध सट्टेबाजी कारोबारमा संलग्न रहेको पाइएपछि चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिएको एसएसपी चौधरीले जानकारी दिए ।
पक्राउ पर्ने भारतीय नागरिकहरूमा भारतको मध्यप्रदेश, भोपालस्थित शंकराचार्य नगर सिकन्दरी सरायका २४ वर्षीय जसवन्त सिंह तोमर, गीतानगर भानपुरका २४ वर्षीय सत्यम राजपुत, लीलाधर कोलोनी भानपुरका २४ वर्षीय हर्ष सिंह उर्फ हर्ष उसरेटे र २७ वर्षीय राहुल चन्द रहेका छन् ।
त्यस्तै, पक्राउ पर्ने नेपाली नागरिकमा डोटीको दिपायल सिलगढी नगरपालिका–३ निवासी ३२ वर्षीय सागर राना छन् । पक्राउ परेकाहरूले ‘कुश ७७७’ लगायतका विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत अवैध सट्टेबाजी कारोबार सञ्चालन गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस