उज्यालोका कुलमान रास्वपा भित्र अध्यारोमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समूह र कुलमान घिसिङ पक्षका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरी शपथ खुवाउने तयारी गरेको थियो । तर अन्तिम समयमा घिसिङ पक्षका नेताहरू शपथ कार्यक्रममा सहभागी भएनन् ।
घिसिङ पक्षबाट केन्द्रीय सदस्यका लागि आकांक्षीको संख्या धेरै भएकाले नाम टुंग्याउन नसकिँदा शपथमा सहभागी हुन नसकिएको बताइएको छ । घिसिङ निकट एक नेताका अनुसार, “हाम्रो पक्षको नाम फाइनल हुन सकेन । केन्द्रीय सदस्य बन्ने आकांक्षी धेरै भए पनि रास्वपाबाट पाउने संख्या सीमित छ ।”
ऊर्जा मन्त्रीसमेत रहेका कुलमान घिसिङको व्यस्तताका कारण पनि नाम टुंग्याउने प्रक्रियामा ढिलाइ भएको पार्टीका अन्य नेताहरूले बताएका छन् । “मन्त्रीज्यू मन्त्रालयको काममा व्यस्त हुनुहुन्थ्यो । हिजो रातिनै नाम टुंग्याउने भनिएको थियो, तर समय दिन भ्याउनु भएन,” ती नेताले भने, “रास्वपाबाट शपथका लागि बोलाइयो, तर हामीले नै नाम दिन सकेनौं ।”
उज्यालो पार्टीबाट केन्द्रीय सदस्यमा कति जना जाने भन्ने विषय पनि अझै तय भइसकेको छैन । समानुपातिकतर्फ उज्यालो पार्टीबाट १८ जना सहभागी भएकाले सोही हाराहारीमा केन्द्रीय समितिमा लैजाने तयारी भए पनि सबै समानुपातिक सूचीमा परेका व्यक्ति केन्द्रीय समितिमा जाने निश्चित छैनन् ।
तत्कालीन उज्यालो पार्टीको विधानअनुसार केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने व्यवस्था थियो । तीमध्ये सुरुमा ५१ जना निर्वाचन आयोगमा दर्ता गरिएको थियो भने पछि बढाएर ९४ जना पुर्याइएको थियो । तर रास्वपासँग एकीकरण भएपछि तत्कालीन उज्यालो पार्टीको केन्द्रीय कमिटीबाट ४–५ जना मात्र समेटिने अवस्था आएपछि नाम चयन गर्न जटिलता बढेको कुलमान पक्षका नेताहरूको दाबी छ । केन्द्रीय कमिटी बाहिर रहेका अन्य सदस्यहरू पनि केन्द्रीय सदस्य बन्ने दौडमा रहेकाले सहमति जुट्न कठिन भएको उनीहरूको भनाइ छ ।
“रास्वपाबाट १८ देखि २१ जनासम्मलाई केन्द्रीय कमिटीमा लैजाने कुरा आएको छ, तर ठोस संख्या अझै तय भएको छैन,” ती नेताले भने । कुलमान पक्षबाट केन्द्रीय सदस्य बन्ने आकांक्षीको संख्या ५० जनाभन्दा बढी रहेको बताइएको छ ।
पार्टी एकताका क्रममा कुलमान घिसिङलाई उपसभापति बनाउने सहमति भइसकेको छ भने अन्य पदाधिकारी पदमा पनि घिसिङ पक्षले दाबी गरिरहेको छ । पार्टी एकता र समायोजन प्रक्रियालाई निष्कर्षमा पुर्याउन रास्वपाले उपसमिति गठन गरेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गठित उपसमितिले विवाद समाधान र संगठनात्मक समायोजनको काम टुंगो लगाउने बताइएको छ ।
केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहमा समायोजन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको र पदाधिकारी तथा केन्द्रीय सदस्यमा प्याकेजमै सहमति गर्ने प्रयास भइरहेको पार्टीले जनाएको छ ।
यसअघि आइतबार बालेन समूहका २६ जना तथा विवेकशील साझा पार्टी छाडेर रास्वपासँग एकतामा समाहित भएका ७ जनालाई शपथ गराइएको थियो । कुलमान घिसिङ पक्षका नेताहरूलाई पनि छिट्टै शपथ गराइने रास्वपाका नेताहरूले दाबी गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस