Techie IT
२०८३ कार्तिक २९, शनिबार

ह्वाइट हाउस नजिकैको जिममा अन्धाधुन्ध गोली प्रहार


अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागस्थित एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा आक्रमणकारीसहित दुई जनाको मृत्यु भएको छ। पाँच जनामाथि लक्षित उक्त आक्रमणमा परी एक सर्वसाधारणको ज्यान गएको छ भने अन्य घाइते भएका छन्।

अमेरिकामा सामूहिक गोलीकाण्डका घटना नौला नभए पनि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कार्यकालमा राजधानीको शान्तिसुरक्षा राष्ट्रिय बहसको विषय बनिरहेका बेला यो घटना भएको हो। घटनालगत्तै स्थानीय प्रहरी र सङ्घीय सुरक्षा फौजको व्यापक परिचालन गरिएको थियो।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ८ बजे कार्यालय जाने व्यस्त समयमा ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर उत्तरमा रहेको लोगन सर्कलस्थित एक जिमखानामा बन्दुकधारी प्रवेश गरेका थिए। विदेशी दूतावास र आधुनिक रेस्टुरेन्टहरू रहेको उक्त क्षेत्र निकै चहलपहलपूर्ण मानिन्छ।

प्रत्यक्षदर्शी जेम्स स्पेलम्यानका अनुसार आक्रमणका बेला जिमभित्र करिब ५० जना थिए। “केही सेकेन्डमै एक व्यक्ति भुइँमा ढले र रगतको आहाल जम्यो। जिमका एक सदस्य उनलाई जोगाउन दौडिए, तर घाँटीमा गोली लागेका उनको घटनास्थलमै मृत्यु भइसकेको थियो” स्पेलम्यानले भने। जिमभित्र करिब दुई राउन्ड र बाहिर १५औँ स्ट्रिट क्षेत्रमा पाँच–छ राउन्ड गोली चलेको आवाज सुनेको उनले बताए।

आक्रमणको केही मिनेटमै मेट्रोपोलिटन प्रहरी विभाग, सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) र सिक्रेट सर्भिसका भारी हतियारधारी सुरक्षाकर्मीले क्षेत्रलाई घेरा हालेका थिए। ‘सक्रिय आक्रमणकारी’ रहेको चेतावनी जारी गर्दै अधिकारीहरूले आसपासका विद्यालय बन्द गराएका थिए भने सर्वसाधारणलाई झ्यालबाट टाढा रहन र सुरक्षित स्थानमा भित्रै बस्न निर्देशन दिएका थिए।

वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफरी क्यारोलका अनुसार खैरो सर्ट लगाएका ती श्वेत पुरुष जिमभित्र गोली चलाएपछि बाहिर निस्किएर सँगैको अर्को भवनको सातौँ तलाको कोठामा थुनिएका थिए। नजिकैका छतबाट स्नाइपरहरूले निगरानी गरिरहँदा विशेष वार्ताकार टोलीले उनीसँग फोनमा संवाद थालेको थियो। सोही क्रममा उनले ढोकाभित्रैबाट प्रहरीतर्फसमेत गोली प्रहार गरेका थिए।

वार्ता सुरु भएको करिब एक घण्टापछि फोनमै गोली चलेको आवाज सुनिएको थियो। लगत्तै प्रहरीले ढोका फोडेर भित्र पस्दा उनलाई आफैँले गोली हानी आत्महत्या गरेको अवस्थामा मृत फेला पारेको थियो।

वासिङ्टन डिसी काउन्सिल सदस्य ब्रुक पिन्टोका अनुसार म्याट ल्याम्बर्ट नाम गरेका ती संदिग्ध व्यक्ति पेसाले चिकित्सक थिए। आफू बस्ने आवासीय भवन (कन्डोमिनियम) को विवादसम्बन्धी अदालतमा विचाराधीन मुद्दाका विपक्षीमाथि उनले सुरुमा जिममा गोली चलाएका थिए। प्रहरी प्रमुख क्यारोलले पनि आक्रमणकारी र भवनको घरधनी सङ्घबीचको द्वन्द्वका कारण गोलीकाण्ड भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए। आक्रमणकारीको मानिएको सामाजिक सञ्जाल खातामा उक्त आवासीय भवनको खराब अवस्थाबारे बारम्बार पोस्ट गर्ने गरिएको अपुष्ट विवरणहरूमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट