संसद् विघटनमा हाम्रो समर्थन थिएन : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी विद्रोहपछि भएको प्रतिनिधिसभा विघटनमा आफूहरूको समर्थन नरहेको स्पष्ट पारेका छन् ।
नेपाली समाज भारतले सोमबार नयाँ दिल्लीमा आयोजना गरेको ‘एकता सन्देश’ कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अन्तरिम सरकार गठन गर्ने प्रक्रियामा मात्र आफूहरूले सहजीकरण गरेको दाबी गरेका थिए ।
“भदौ २३ र २४ गते देश राज्यबिहीनताको अवस्थामा थियो । आज के हुन्छ, भोलि के होला भन्ने अन्योल थियो,” प्रचण्डले भने, “भदौ २६ गते म र माधवजी रातभर बसेर परिस्थितिलाई सामान्य बनाउने प्रयास गर्यौँ । राष्ट्रपति र प्रधान सेनापतिले बोलाएपछि हामी दुई जना बसेर मेहनत गर्यौँ ।”
उनका अनुसार कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अन्तरिम सरकार गठन भएको हो । तर संसद् विघटनमा भने सहमति नभएको उनले दोहोर्याए । “संसद् विघटनमा हाम्रो सहमति थिएन । राष्ट्रपतिले परिस्थितिको मूल्याङ्कन गर्दै प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको हो,” उनले भने ।
प्रचण्डले तत्कालीन दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेकै कारण देश दुर्घटनातर्फ धकेलिएको आरोप लगाएका छन् । उनले ती दलहरूले सहन नसकेर आफूलाई जबर्जस्ती सत्ताबाट हटाएको दाबी पनि दोहोर्याए ।
“राम्रो काम भइरहेका बेला दुई ठूला दलहरूले सहन सकेनन् । संविधान मिचेर सरकारबाट हटाए,” उनले भने, “यसको परिणाम राम्रो हुँदैन भनेर मैले संसद्मै चेतावनी दिएको थिएँ । तर उनीहरूले सुनेनन् ।”



तपाईको प्रतिक्रिया दिनुहोस