राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसको निर्णायक बैठक आज
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुंगो आज लगाउने भएको छ। यसका लागि पार्टीले आज बिहान ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बिहान ११ बजे बस्ने बैठकले उम्मेदवार छनोटसँगै अन्य दलसँगको चुनावी तालमेलबारे समेत निर्णय गर्नेछ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले, माओवादी केन्द्रलगायत दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको छ।
राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियतअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन जित्ने आधार तयार गर्न अन्य राजनीतिक शक्तिहरूसँग सहकार्यको पहल गरेको हो।
आजको बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुने कांग्रेसले जनाएको छ। निर्णायक मतभार रहेका सबै दलहरूसँग सहमतिको प्रयास जारी रहेकाले आजको बैठक महत्वपूर्ण हुने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस