Techie IT
२०८२ पौष २६, शनिबार

रास्वपासँग एकता घोषणापछि उज्यालो नेपालमा विद्रोहको संकेत

उज्यालो नेपालका नेताहरूले पार्टीको सम्मान र आगामी निर्वाचनको तयारीलाई ध्यानमा राख्दै अपमान सहेर बस्नुभन्दा ठोस र स्पष्ट निर्णय लिनुपर्नेमा जोड


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरेलगत्तै कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीभित्र तीव्र असन्तुष्टि र आन्तरिक कलह सुरु भएको छ।

संघीयता र धर्मनिरपेक्षताजस्ता गम्भीर सैद्धान्तिक विषयमा स्पष्ट सहमति नजुटिरहेका बेला पदीय भागबण्डा र एकताअघि भएका सहमति उल्लंघनका विषयले विवाद थप उत्कर्षमा पुगेको हो। उज्यालो नेपालका नेताहरूले रास्वपा नेतृत्वको व्यवहारलाई ‘अपमानजनक’ ठहर गर्दै एकता प्रक्रियामाथि नै प्रश्न उठाउन थालेका छन्।

यसै सन्दर्भमा काठमाडौंको बौद्धस्थित एक होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो। बैठकमा पार्टी नेता कुलमान घिसिङले रास्वपाका सभापति रवि लामिछानेसँग आज बिहान भएको छलफल र त्यसको गाम्भीर्यबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका छन्।

घिसिङले एकताका लागि गरिएका पूर्वसहमति कार्यान्वयनमा रास्वपा नेतृत्व इमानदार नदेखिएको निष्कर्ष प्रस्तुत गरेका थिए। बैठकमा रवि लामिछाने व्यक्तिगत रूपमा सकारात्मक देखिए पनि रास्वपाको सचिवालय र ‘कोर टिम’ ले सहमति पालना गर्न दबाब महसुस नगरेको र सहमतिलाई उपेक्षा गरेको निष्कर्ष निकालिएको छ।

स्रोतका अनुसार, एकताका क्रममा उज्यालो नेपाललाई ३० प्रतिशत प्रत्यक्ष उम्मेदवार, २६ जना केन्द्रीय सदस्य र १८ जना समानुपातिक उम्मेदवार दिने प्रारम्भिक समझदारी भएको थियो। तर हाल समानुपातिकतर्फ १८ को सट्टा १४ जनाको मात्र नाम समावेश गरिएको र पहिल्यै सांसद बन्ने निश्चित भएका ६ जनाको क्लस्टरसमेत हटाइएको भन्दै उज्यालो नेपालका नेताहरू आक्रोशित छन्।

निर्वाचन आयोगमा ५१ जना सदस्य अद्यावधिक रहेको उज्यालो नेपालको ९४ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले अहिलेको ‘यथास्थिति’ मा एकतालाई अगाडि बढाउन नसकिने धारणा राखेका छन्।

बैठकमा रास्वपाले ठूलो पार्टीको अहंकार देखाएको, उज्यालो नेपालका उम्मेदवारहरूको नाम काटिएको र पार्टीको प्रतिष्ठामाथि आँच पुर्‍याइएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरिएको छ।

उज्यालो नेपालका नेताहरूले पार्टीको सम्मान र आगामी निर्वाचनको तयारीलाई ध्यानमा राख्दै अपमान सहेर बस्नुभन्दा ठोस र स्पष्ट निर्णय लिनुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट