इरानले प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले आक्रमण गर्छ : ट्रम्प
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रदर्शन अझै चर्किए सर्वोच्च नेता खामेनी देश छाडेर भाग्ने तयारीमा रहेकोसमेत उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सरकारविरोधी प्रदर्शनलाई लिएर दोस्रो पटक कडा चेतावनी दिएका छन्। प्रदर्शन नियन्त्रणको नाममा प्रदर्शनकारीमाथि गोली चलाइए इरानी नेतृत्वलाई लक्षित गर्दै अमेरिकाले आक्रमण गर्ने ट्रम्पको चेतावनी रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
इरानमा प्रदर्शन चर्किँदै गएपछि सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ। पछिल्ला दुई सातामा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भइसकेको बताइएको छ। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानी नेतृत्वलाई सिधै चेतावनी दिँदै भने, “तिमीहरूले प्रदर्शनकारीमाथि गोली चलायौ भने हामी पनि तिमीहरूमाथि चलाउँछौं।”
ट्रम्पले इरान हाल अत्यन्त खराब अवस्थामा पुगेको टिप्पणी गर्दै यसअघि पनि प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउन खोजिए कडा प्रतिक्रिया दिने चेतावनी दिइसकेका थिए। उनले प्रदर्शनकारीहरूलाई इरानी नेतृत्वबाट जोगाउन अमेरिका हस्तक्षेप गर्न सक्ने संकेतसमेत दिएका थिए।
शुक्रबारसम्म इरानमा सरकारविरोधी आन्दोलन देशव्यापी बनेको छ। सबै ३१ वटै प्रान्तका एक सयभन्दा बढी सहरमा लाखौँ प्रदर्शनकारी सडकमा उत्रिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर, इरानका सरकारी सञ्चारमाध्यमहरूले प्रदर्शनको आकार सानो देखाउँदै स्थिति नियन्त्रणमा रहेको सन्देश दिन खोजेको आरोप अन्तर्राष्ट्रिय मिडियाले लगाएका छन्।
केही महिनाअघि अमेरिकाले इरानको परमाणु हतियार भण्डारणलाई लक्षित गरी शक्तिशाली बम प्रहार गरेपछि त्यहाँको अर्थतन्त्र थप धराशायी बनेको बताइन्छ। बढ्दो महँगी, इरानी मुद्राको तीव्र अवमूल्यन र सरकारको कमजोर आर्थिक नीतिविरुद्ध दुई साताअघि सुरु भएको आन्दोलन अहिले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजीनामा मागसम्म पुगेको छ।
प्रदर्शनकारीहरूले पूर्वशाहका छोरा रेजा पहलवीको समर्थनमा ‘शाह जिन्दावाद’ र ‘यो अन्तिम लडाइँ हो’ जस्ता नारा लगाइरहेका छन्। रेजा पहलवी हाल अमेरिकामा निर्वासनमा छन्। यद्यपि ट्रम्पले तत्कालै उनीसँग भेटघाट गर्ने योजना नरहेको स्पष्ट पारेका छन्, जसलाई वासिङ्टनले अवस्था हेरेर मात्र विपक्षी नेतृत्वलाई समर्थन गर्ने संकेतका रूपमा हेरिएको छ।
यसैबीच, सर्वोच्च नेता खामेनीले टेलिभिजन सम्बोधनमार्फत आन्दोलनकारीहरू विदेशी शक्तिको उक्साहटमा लागेको आरोप लगाउँदै सरकार पछि नहट्ने चेतावनी दिएका छन्। उनले इस्लामिक गणतन्त्र सयौँ हजार शहीदको रगतबाट स्थापित भएको दाबी गर्दै आन्दोलनलाई अराजकता र तोडफोडको संज्ञा दिएका छन्। तेहरानका सरकारी वकिलले सुरक्षाकर्मीमाथि आक्रमण वा तोडफोडमा संलग्नलाई मृत्युदण्डसम्म हुन सक्ने चेतावनी दिएका छन्।
इरानको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘देशको वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै’ सक्षम सुरक्षा निकायको निर्णयअनुसार इन्टरनेट बन्द गरिएको जनाएको छ। इन्टरनेट सेवा बन्द भएपछि बाह्य सूचना प्रवाह अत्यन्त सीमित भएको छ भने दुबई–इरानबीचका कम्तीमा १७ उडान रद्द भएका छन्।
मानवअधिकार संस्था एचआरएएनएका अनुसार डिसेम्बर २८ देखि सुरु भएको आन्दोलनमा हालसम्म कम्तीमा ६२ जनाको मृत्यु भएको छ, जसमा ४८ जना प्रदर्शनकारी र १४ जना सुरक्षाकर्मी रहेको दाबी गरिएको छ। फ्रान्स, बेलायत र जर्मनीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीको हत्या निन्दा गरेका छन् भने संयुक्त राष्ट्रसंघले पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकार सम्मान गर्न आग्रह गरेको छ।
विश्लेषकहरूका अनुसार मुद्रास्फीति ४० प्रतिशत नाघ्नु, एक वर्षमै रियालको मूल्य आधा घट्नु र युद्धपछिको आर्थिक संकटले जनआक्रोश चरम सीमामा पुगेको छ। इरानले विगतमा १९९९, २००९, २०१९ र २०२२ का ठूला आन्दोलनहरू दबाएको इतिहास भए पनि अहिलेको आन्दोलन पछिल्ला वर्षकै सबैभन्दा गम्भीर आन्तरिक चुनौतीका रूपमा देखिन थालेको छ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रदर्शन अझै चर्किए सर्वोच्च नेता खामेनी देश छाडेर भाग्ने तयारीमा रहेकोसमेत उल्लेख गरेका छन्। बेलायती अनलाइन द टाइम्स ले गुप्तचर रिपोर्ट उद्धृत गर्दै खामेनीको ‘प्लान बी’ तयार अवस्थामा रहेको दाबी गरेको छ। प्रतिवेदनअनुसार ८६ वर्षीय खामेनी करिब २० जना निकट सहयोगी र परिवारका सदस्यसहित सुरक्षित स्थानतर्फ पलायन गर्ने योजना बनाइरहेका छन्, जसमा उनका छोरा तथा सम्भावित उत्तराधिकारी मोज्तबा खामेनी पनि रहने बताइएको छ।
इसरायली गुप्तचर सेवामा लामो समय काम गरेका बेनी साब्तीले खामेनी मस्को जान सक्ने सम्भावना रहेको बताएका छन्। उनका अनुसार खामेनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आकर्षित छन् र इरान तथा रुसबीच सांस्कृतिक समानता रहेको विश्वास गर्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस