सर्वोच्च अदालत खरानीबाट उठ्यो- प्रधानन्यायाधीश राउत
अहिले न्यायालय खरानी टकटक्याएर उठेको छ र सर्वोच्च अदालत पुरानै अवस्थामा फर्किन थालेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताएका छन्। उनले सर्वोच्च अदालत अहिले ‘खरानी टकटक्याएर उठेको’ अवस्थामा रहेको उल्लेख गरे।
उच्च अदालत पोखराअन्तर्गत बागलुङ इजलासको नयाँ भवन उद्घाटन समारोहमा बोल्दै राउतले भने, “हामीप्रति आवेग पनि प्रकट गरिएको थियो। तर राज्यका तीनवटै अङ्ग जलाउने काम सुनियोजित थियो। अहिले न्यायालय खरानी टकटक्याएर उठेको छ र सर्वोच्च अदालत पुरानै अवस्थामा फर्किन थालेको छ।”
उनका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगलागीबाट करिब २० हजार मिसिल जलेका थिए। तीमध्ये १४ हजारभन्दा बढी मिसिल पुनः तयार भइसकेको उनले जानकारी दिए। जलेर नष्ट भएका मिसिलहरू विभिन्न बार इकाइ, सरकारी वकिलको कार्यालय तथा कानुन व्यवसायीबाट प्राप्त विवरणका आधारमा पुनः संकलन गरिएको राउतको भनाइ छ।
जलेका मिसिल पुनर्प्राप्ति भएपछि न्यायालय पुनः उठ्न थालेको उनले बताए। सुविधासम्पन्न भवन मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले सेवा प्रवाहमा नागरिकलाई सन्तुष्टि दिन न्यायाधीश र कर्मचारीलाई आग्रह गरेका थिए । जेनजी आन्दोलनपछि देश संवेदनशील अवस्थामा पुगेको भन्दै उनले निर्मम समीक्षा गरेर न्यायिक सेवाको गुणस्तर बढाउनुपर्ने आवश्यकता औँल्याए।



तपाईको प्रतिक्रिया दिनुहोस