एकै टेबुलमा सी, ट्रम्प र पुटिन, विश्व राजनीतिमा आयो तरङ्ग
चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको दक्षिणी सहर सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदैछ । विश्वका तीन प्रमुख महाशक्ति राष्ट्रका शीर्ष नेताहरू औपचारिक रूपमा एकैसाथ वार्ताको टेबुलमा बस्न लागेको यो पहिलो अवसर हो ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन सेन्जेन पुगेका तीनै नेताबीच बुधबार सम्मेलनको औपचारिक तस्बिर खिचाउनुअघि संक्षिप्त भेटघाट तथा सौहार्दपूर्ण अभिवादन आदानप्रदान भएको थियो ।
यसअघि बुधबार नै सेन्जेन विमानस्थलमा अवतरण गरेका राष्ट्रपति ट्रम्पलाई चिनियाँ समकक्षी सीले धावनमार्गमै पुगेर अँगालो हाल्दै न्यानो स्वागत गरेका थिए । दशकौँपछि चिनियाँ सर्वोच्च नेताले विदेशी राष्ट्रप्रमुखलाई विमानस्थलमै पुगेर स्वागत गरेको यो दुर्लभ दृश्यलाई सीले आफ्नो शक्ति र कूटनीतिक प्रभाव प्रदर्शन गर्ने अवसरका रूपमा उपयोग गरेको विश्लेषण गरिएको छ । गत सेप्टेम्बरमा सीको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले दिएको भव्य स्वागतको प्रतिउत्तरमा सीले यो विशेष सम्मान दिएका हुन् ।
बिहीबार दिउँसो करिब एक घण्टा चल्ने त्रिपक्षीय बैठकमा युक्रेन र इरानमा जारी युद्ध, आणविक हतियार नियन्त्रण, विश्वव्यापी व्यापार तनाव र कृत्रिम बौद्धिकता (एआई) को नियमन तथा विकासलगायतका संवेदनशील मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ । यद्यपि, यस बैठकबाट तत्कालै कुनै ठोस सम्झौता भइहाल्ने सम्भावना भने न्यून रहेको बताइएको छ ।
कूटनीतिक विश्लेषकहरूका अनुसार यस ऐतिहासिक बैठकमार्फत ट्रम्पले विश्व राजनीतिमा परम्परागत शक्ति सन्तुलन र ‘प्रभाव क्षेत्र’ को आफ्नो नीतिलाई अघि सार्ने अवसर पाएका छन् । अर्कोतर्फ, पश्चिमी देशहरूको कडा प्रतिबन्ध र कूटनीतिक एक्लोपन झेलिरहेका पुटिनका लागि अमेरिकी र चिनियाँ राष्ट्रपतिसँग एकै मञ्चमा उभिएर वार्ता हुनुलाई रुसमा ठुलो कूटनीतिक सफलताका रूपमा हेरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस