Techie IT
२०८३ जेष्ठ २१, बिहीबार

विभेदहीन र सभ्य समाज निर्माणका लागि जुट्न राष्ट्रपतिको आह्वान


राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति सबैलाई प्रतिबद्ध बन्न प्रेरणा दिने विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने कुरामा विशेष जोड दिएका छन्। त्यसका लागि समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य रहेको उनको भनाइ छ। दिवसले विविधताभित्रको एकतालाई सुदृढ गर्दै समतामूलक, सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकतालाई पुनः स्मरण गराएको राष्ट्रपतिले उल्लेख गरे।

नेपालको संविधानले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई आत्मसात् गरेको स्मरण गराउँदै राष्ट्रपति पौडेलले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैङ्गिक लगायतका सबै प्रकारका विभेद अन्त्य गर्ने संङ्कल्प गरिएको बताए। उनले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी एवं सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्नु राज्यको मुख्य लक्ष्य रहेको उल्लेख गरेका छन् ।

तत्कालीन सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। सोही ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’का रूपमा मनाउँदै आइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट