Techie IT
२०८३ श्रावण ३०, शनिबार

नयाँ पुस्तालाई स्वाभाविक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ: कांग्रेस नेता निधि


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको नेतृत्व नयाँ पुस्तालाई स्वाभाविक र विधिसम्मत प्रक्रियाबाट हस्तान्तरण गर्नुपर्ने दोहोर्याएका छन्।

नेपाली कांग्रेस इतरपक्षको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता निधिले नेतृत्व हस्तान्तरण पार्टीको विधान, प्रचलित मान्यता र विधिसम्मत ढङ्गबाट हुनुपर्ने बताएका हुन्।

“स्वचालित र स्वाभाविक प्रक्रियाबाट पार्टी र देशको नेतृत्व हस्तान्तरण गर्नु हाम्रो मुख्य उद्देश्य एवम् प्रतिबद्धता हो। त्यसका लागि नयाँ पुस्तालाई वैचारिक स्पष्टता र समर्पण भावका साथ तयार रहन हामी आग्रह गर्दछौँ,”  उनले भने।

नेता निधिले यो राष्ट्रिय भेला पार्टीभित्र बृहत् एकताका पक्षमा पूर्ण रूपमा केन्द्रित रहेको स्पष्ट पारे। कांग्रेसको सङ्घर्ष, त्याग, तपस्या, बलिदान र योगदानको इतिहासले निर्दिष्ट गरेको गन्तव्यबाट पार्टी विचलित हुन नदिन तथा पार्टीले अङ्गीकार गरेका सिद्धान्तमा क्षति पुग्न नदिन भेलाले दृढ सङ्कल्प गरेको उनले बताए।

कांग्रेसलाई देशका समस्त नागरिकको भरपर्दो राजनीतिक शक्तिका रूपमा पुनःस्थापित गराउने र अन्तर्राष्ट्रिय जगत्मा समेत विश्वसनीय मित्रशक्तिका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता यस भेलाले व्यक्त गरेको उनको भनाइ थियो।

सो अवसरमा उनले प्रतिकूल तथा असहज परिस्थितिमा आयोजित यस भेलामा प्रमुख अतिथिका रूपमा सहभागिता जनाएकोमा पार्टी सभापति शेरबहादुर देउवाप्रति आभार प्रकट गर्दै सभापति देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको सुस्वास्थ्यको कामनासमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट