विपदको बेला भूराजनीतिक चलखेल नगर्न पूर्वप्रधानमन्त्री डा. भट्टराईको चेतावनी
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान हिमाली महाविपत्तिका समयमा छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा आशंका र दरार पैदा गर्ने गरी भइरहेका भूराजनीतिक चलखेलप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
विपद्को यो घडीमा राष्ट्रिय अस्तित्व र समृद्धिका लागि दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध हुनुपर्नेमा उनको जोड छ। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले उत्तरी छिमेकीसँगको सम्बन्ध बिगार्ने मनसायले भइरहेका हर्कतको आलोचना गरेका छन्।
महाविपत्तिको बेला पनि कतिपयले दुराशयपूर्ण ढङ्गले भूराजनीतिक चलखेल गरिरहेको टिप्पणी गर्दै उनले भनेका छन्, “यस्तो महाविपत्तिको वेलामा पनि कतिपयले अत्यन्त दुराशयपूर्ण ढङ्गले र कतिले अनायासै भूराजनीतिक चलखेल गर्ने र छिमेकीहरूसँगको सम्बन्ध र अझै ठोस रूपमा भन्नुपर्दा हिमालसँग प्रत्यक्ष जोडिएको उत्तरी छिमेकीसँगको सम्बन्धमा आशंका र दरार पैदा गर्ने जुन दृश्य-अदृश्य हर्कत गरिरहेछन्, त्यो ज्यादै चिन्ताजनक छ।”
वर्तमान अन्तर्निर्भर औद्योगिक अर्थतन्त्रको युगमा नेपालको भूमिका ‘दुई छिमेकीबीचको गतिशील सेतु’ हुनुपर्ने उनको तर्क छ। नेपालको स्वतन्त्र राष्ट्रिय अस्तित्व र विकासका लागि भारत र चीन दुवैसँगको सन्तुलित सम्बन्ध अनिवार्य रहेको उनले औंल्याएका छन्।

आगामी दिनमा हिमाली क्षेत्रसँग जोडिएका देशहरू तथा छिमेकी भारत र चीनसँगको सहकार्यलाई प्राथमिकतामा राखेर आन्तरिक बहुआयामिक नीतिहरूमा परिमार्जन गर्नुपर्ने उनको सुझाव छ। स्मरण रहोस्, डा. भट्टराईको यही भनाइलाई नेपालस्थित चिनियाँ दूतावासले समेत सेयर गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस