मूल्यवृद्धि रोक्न वर्तमान सरकार पूर्ण रूपमा असफल - एमाले
विपक्षी दल नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धि रोक्न वर्तमान सरकार पूर्ण रूपमा असफल भएको गम्भीर आरोप लगाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार एक प्रेस नोट जारी गर्दै जनतालाई राहत दिनुका साटो सरकार आफ्ना असफलता र कमजोरीहरू ढाकछोप गर्न विषयान्तरको राजनीतिमा लिप्त भएको दाबी गरेका छन् । दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति, उचित व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार चुकेको बताउँदै उहाँले चाडपर्वको मुखमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको उल्लेख गरे ।
प्रेस नोटमा ग्यासको सहज आपूर्ति हुन नसक्दा नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै एमालेविरुद्ध सुनियोजित दुष्प्रचार भइरहेको गुनासो गरिएको छ। ललितपुरका एक व्यवसायीलाई एमाले केन्द्रीय सदस्यको ‘कृत्रिम परिचय’ जोडी ग्यास लुकाएको भ्रामक आरोप लगाइएको र यसले पार्टीलाई बदनाम गर्ने कुत्सित प्रयास भएको प्रचार प्रमुख आचार्यको ठहर छ।
त्यस्तै, सरकारको संरक्षणमा रहेका राजनीतिक दलका कार्यकर्ताहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउने, साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भावमा आँच पुर्याउने गतिविधि गरिरहेको एमालेले आरोप लगाएको छ।
जनताका वास्तविक समस्या र सरकारको चौतर्फी असफलताबाट ध्यान मोड्न यस्ता हथकण्डा अपनाइएको भन्दै पार्टीले यसको कडा शब्दमा भर्त्सना गरेको छ। भ्रमको राजनीति लामो समय नटिक्ने चेतावनी दिँदै एमालेले सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाउने र यसमा संलग्न व्यक्तिहरूको फेहरिस्त प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस