संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री साह
प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदका रगतले लेखिएको संविधानलाई काममार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्याउँछु। संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट,” प्रधानमन्त्री शाहले भने। जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेको उल्लेख गर्दै उनले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको बताए।
प्रजातन्त्र, मानव अधिकार र कानुनी राज्य राष्ट्रिय जीवनको आधार भएको बताउँदै प्रधानमन्त्रीले भ्रष्टाचार र दण्डहीनताको गहिरो जरो उखेल्न सरकार कडा रूपमा प्रस्तुत भएको स्पष्ट पारेका थिए । सुशासन नारामा मात्र सीमित नरही कामबाटै देखाउने प्रतिबद्धता जनाउँदै उनले प्रशासनिक संरचनाको सुधार, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताए। साथै, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्रविधि र साइबर सुरक्षालाई आत्मसात् गर्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने उनले उल्लेख गरे।
यसैबीच, प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको अपुरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा खटिने सबैप्रति आभार प्रकट गरेका छन्। साथै, उनले देशका विभिन्न परिवर्तनकारी आन्दोलनका शहीदहरूसँगै ऐतिहासिक जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने योद्धाहरूमाथि हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस