सबै धर्म, भाषा र संस्कृतिको संरक्षण हुनुपर्छ - शेखर कोइराला
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले नेपालको बहुभाषिक, बहुधार्मिक, र बहुजातीय विविधताको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा आयोजित राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४०औँ जन्मजयन्ती समारोहमा उनले नेपालको विविधताले नेपाली राष्ट्रियतालाई बलियो बनाएको बताएका थिए ।
नेता कोइरालाले भने, "सामूहिक भावबाट उत्पन्न एकता र शक्ति निर्माणको भावना नेपाली राष्ट्रियतालाई बलियो बनाउने मुख्य आधार हो। यसलाई थप मजबुत बनाउन सबै पक्ष एकताका साथ लाग्नुपर्छ।"
कोइरालाले फाल्गुनन्दको ‘सत्य, शान्ति र अहिंसावादी’ दर्शनले नेपाली संस्कृति र सभ्यतालाई अन्तर्राष्ट्रिय समुदायबीच थप पहिचान दिलाएको बताएका थिए । जन्मजयन्तीका अवसरमा फाल्गुनन्दको सालिक अनावरण र किरात माङहिम (मन्दिर) उद्घाटन गरिएको थियो ।
फाल्गुनन्दले वि.सं १९८८ मा लिम्बूवान क्षेत्रमा कुरीति र कुसंस्कारको अन्त्य गर्न सातबुँदे ‘सत्यधर्म मुचुल्का’ तयार गर्नुभएको थियो।
राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म विसं १९४२ कात्तिक २५ मा माङसेबुङ गाउँपालिका–२ मा भएको थियो, र वि.सं २००५ मा उहाँको निधन भएको थियो। फाल्गुनन्द लाई २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरिएको थियो, र हरेक वर्ष किरात धर्मावलम्बीहरुले उहाँको जन्मजयन्ती मनाउँदै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस