कांग्रेस मन्त्रीमाथि घुसको गम्भीर आरोप
रुपन्देहीको भैरहवास्थित रोयल टाइगर रिक्रिएसनद्वारा सञ्चालित क्यासिनोको इजाजत दिने क्रममा मन्त्री पाण्डेले सञ्चालकसँग २ करोड रुपैयाँ घुस लिएको बजगाईंको आरोप छ।
नेपाली कांग्रेस र नेकपा एमालेको दुईतिहाइ नजिकको गठबन्धन सरकार विवादमा फसेको छ। हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेमाथि आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंले घुस लिएको आरोप लगाएपछि यो विषयले थप चर्चा पाएको छ।
रुपन्देहीको भैरहवास्थित रोयल टाइगर रिक्रिएसनद्वारा सञ्चालित क्यासिनोको इजाजत दिने क्रममा मन्त्री पाण्डेले सञ्चालकसँग २ करोड रुपैयाँ घुस लिएको बजगाईंको आरोप छ।
सांसद बजगाईंका अनुसार क्यासिनो सञ्चालक रवि धितालले मन्त्री पाण्डेलाई इजाजतका लागि २ करोड रुपैयाँ बुझाएको बताएका छन्। बजगाईंले उक्त लेनदेनको क्रममा अरु मानिस पनि साक्षी रहेको दाबी गरेका छन्। यस घटनामा उनले मन्त्री पाण्डेले भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्।
सार्वजनिक जग्गा मिचेको क्यासिनो र इजाजत विवाद
भैरहवास्थित टाइगर प्यालेस क्यासिनोले सार्वजनिक जग्गा मिचेर निर्माण गरेको आरोपमा मुद्दा विचाराधीन अवस्थामा छ। अदालतले सो होटललाई यथास्थितिमा राख्न आदेश दिएको छ। यस होटलसँग सम्बन्धित विवाद नेपाल राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ।
मन्त्री पाण्डेले अदालतमा मुद्दा चलिरहेको क्यासिनोलाई इजाजत दिन लागेको भन्दै यस कार्यलाई सांसद बजगाईंले शंकास्पद ठहर गरेका छन्।
मन्त्री पाण्डेले आफूलाई लागेको आरोपको खण्डन गर्दै स्वार्थ समूहले आफूलाई मानमर्दन गर्न खोजेको आरोप लगाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले पशुपतिनाथ मन्दिरलाई साक्षी राखेर आफूले एक रुपैयाँ पनि घुस नलिएको भन्दै प्रमाणित भएमा राजनीतिबाट सन्यास लिने प्रतिज्ञा गरेका छन्।
उनले आफू धर्मप्रति आस्था राख्ने र राजनीतिलाई सेवा भावको रूपमा बुझ्ने व्यक्ति भएको भन्दै बजगाईंलाई स्वार्थ समूहको मतियार र विचौलिया भनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस