Techie IT
२०८२ वैशाख २३, मंगलबार

वामपन्थी नेता प्रदीप नेपालको निधन, श्रद्धाञ्जली कार्यक्रम नहुने


वरिष्ठ वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनले अन्तिम सास फेरेको पारिवारिक स्रोतले जनाएको छ । उनी विगत लामो समयदेखि पार्किन्सनलगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

वि.सं. २०१० मा जन्मिएका नेपालले २०५१ सालमा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पछिल्ला वर्षहरूमा भने उनी सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।

नेता नेपालका भाइ तथा एमाले नेता समिर नेपालका अनुसार, दिवंगत नेता नेपालले मृत्युपूर्व लेखिएको इच्छापत्रमा आफूप्रति श्रद्धाञ्जली वा पार्टीगत औपचारिकता नगर्न अनुरोध गरेका थिए । त्यसअनुसार न त पार्टीको झण्डा ओढाइनेछ, न त श्रद्धाञ्जली सभा गरिनेछ। परिवारले पनि यसमा समर्थन जनाउँदै नेता नेपालको अन्तिम इच्छाको सम्मान गर्ने निर्णय गरेको छ ।

कम्युनिस्ट आन्दोलनमा लामो समय सक्रिय रहेका प्रदीप नेपाल नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि निष्क्रिय बन्दै गएका थिए । 

विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको पार्टीबाट प्रस्ताव भए पनि उनले एमालेमै सदस्यता नवीकरण गरेका थिए तर प्रत्यक्ष राजनीतिक भूमिकामा भने फर्किएका थिएनन् ।

स्वास्थ्य अवस्था कमजोर हुनुका साथै पार्टीभित्रको विभाजन र नेतृत्वप्रति असन्तुष्टि भएका कारण उनी पछिल्लो एक दशकभन्दा बढी समय पार्टी राजनीतिबाट टाढै थिए ।

उनको अन्त्येष्टि आर्यघाटमा पारिवारिक रूपमा सादा विधिबाट सम्पन्न गरिने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट