संघीय संसदका दुवै सदनको बैठक बस्दै, भूमिसम्बन्धी र विनियोजन विधेयकमा केन्द्रित हुने

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरू आज बस्दैछन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि तोकिएको छ ।
प्रतिनिधि सभाको बैठकमा आज भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त विधेयक प्रस्तुत गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्ताव राख्नेछन् । यसअघि सो विधेयकमाथि सांसद प्रेम सुवालले विरोध जनाउँदै सूचना दर्ता गराएका थिए, त्यसलाई पनि निर्णयार्थ पेस गरिनेछ ।
यस्तै, प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल पनि आज जारी रहनेछ । संसद सचिवालयका अनुसार विगतका बैठकहरूमा उठाइएका सवालहरूको निरन्तरता दिइनेछ ।
दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा पनि यही विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू माथि छलफल हुनेछ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट र खर्चको ढाँचालाई लिएर सांसदहरूले आ–आफ्ना विचार राख्नेछन् ।
साथै, राष्ट्रिय सभामा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ पनि दफावार छलफलका लागि अगाडि बढ्ने तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विधेयकलाई प्रतिनिधि सभाबाट सन्देशसहित राष्ट्रिय सभामा ल्याई विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस