हुम्ला पहिरो पीडितको तत्काल उद्धारका लागि प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्ला जिल्लाको बाढी–पहिरो प्रभावित नाम्खा गाउँपालिका–६ तिलगाउँमा तत्काल उद्धार र जोखिममा रहेका नागरिकको सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले हिमताल फुटेर आएको पहिरोले बस्ती जोखिममा परेको, खानेपानी, सडक र पुल जस्ता पूर्वाधारमा क्षति पुगेको र ३३ जना स्थानीय नागरिक राहत र उद्धारको पर्खाइमा रहेको अवस्थामा अझैसम्म सरकारी उपस्थिति नदेखिनु गम्भीर विषय भएको बताएका छन् ।
उनले फेसबुकमा लेख्दैँ भने, “तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गर्दछु ।”
साथै, प्रचण्डले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने खतरा बढिरहेको भन्दै यस्तो विषयको बहस राजधानीमा मात्र सीमित नराखी वैज्ञानिक अध्ययन र स्थानीय पूर्वतयारीमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस