काम गरे पनि प्रचार गर्न नसक्दा कांग्रेस पछि पर्यो : प्रवक्ता महत

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता प्रकाशशरण महतले सरकारमा रहँदा गरेका कामको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उनले विसं २०४८ यता स्वास्थ्य, शिक्षा, सञ्चार, सडक, पुल र विद्युत् जस्ता विकास निर्माणले तीव्रता पाए पनि त्यस्ता कार्यको प्रचारप्रसार गर्न नसक्दा कांग्रेस पछि परेको बताएका हुन् ।
व्यक्तिगत गालीगलौज र प्रतिस्पर्धाभन्दा कांग्रेस सरकारमा हुँदा गरेका कामको सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार र पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न सकेमा कांग्रेसलाई कसैले पराजय गर्न नसक्ने भनाइ उनको छ । सङ्गठन निर्माण र आफूले गरेका कामको बिक्री गर्न नसक्दा काँग्रेसको प्रगति जुन रुपमा हुनुपर्ने थियो, त्यसरी हुन नसकेको उनको निष्कर्ष छ ।
“कांग्रेसको नीति र विचार ठीक भएकै कारण अन्य पार्टीहरु पनि लोकतान्त्रिक बाटोमा आएका छन्,” उनले भने, “बिपीको नीतिलाई आत्मसात गर्दै देश र जनताप्रति प्रतिबद्ध भएर कांग्रेसका नेता तथा कार्यकर्ता अगाडि बढ्नुपर्छ ।” सत्तामा रहँदा मात्र जनताका काम गर्न सकिने भएकाले कांग्रेस गठबन्धनको सरकारमा संलग्न भएको उनले बताए । मिश्रित निर्वाचन प्रणाली भएसम्म कुनै पार्टीको बहुमत आउन नसक्ने उनको धारणा छ ।
तपाईको प्रतिक्रिया दिनुहोस