Techie IT
२०८२ मंसिर २, मंगलबार

उमेर हदबन्दीको विवादले क्रान्तिकारीको सम्मेलन अनिश्चित


अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन राजधानी काठमाडौंमा असोज १०–१४ का लागि आयोजना गरिएको थियो। देशभरिबाट २,२२३ प्रतिनिधिहरू नयाँ नेतृत्व चयन गर्ने र संगठनलाई नयाँ दिशा दिनेको आकांक्षा लिएर काठमाडौं आएका थिए। त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज १० गते औपचारिक रूपमा सम्मेलनको उद्घाटन गरेका थिए।

तर सम्मेलनको निर्धारित योजना अनुसार बन्दसत्रले अपेक्षित सफलता हासिल गर्न सकेन। असोज ११ मा सुरु भएको बन्दसत्रले अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा रहेको पुरानो केन्द्रीय समिति भंग गर्दै सात सदस्यीय अध्यक्षमण्डल गठन गर्‍यो, जसको नेतृत्व वीरबहादुर थापाले गरेका थिए। तर, सम्मेलन १२ गतेदेखि अविरल वर्षापछि आएको बाढीपहिरो र आन्तरिक विवादका कारण बिथोलियो। उमेर हदबन्दी सम्बन्धी विवादले सम्मेलन थप जटिल मोडमा पुग्यो, जसले नेतृत्व चयन प्रक्रिया नै अनिश्चितकालका लागि स्थगित गरायो।

उमेर हदको विवाद
बन्दसत्रमा केन्द्रीय समितिमा उमेर हद लगाउने कि नलगाउने भन्ने विवादले तीव्रता पायो। केन्द्रीय समिति र पदाधिकारीका लागि उमेर हदको कारण लगभग ९ सय जना उम्मेदवार बन्नबाट वञ्चित हुने अवस्था उत्पन्न भएको थियो। एक पक्षले संगठनलाई वास्तविक विद्यार्थी नेतृत्वमा लैजान ३२ वर्षभन्दा माथिका उमेदवारहरूलाई अयोग्य ठहर गर्नुपर्ने अडान लिएको थियो भने, अर्को पक्षले यस्तो प्रतिबन्ध लगाउनु जायज नभएको भन्दै विरोध गर्‍यो।

अध्यक्षमण्डलले छलफलका लागि १० वटा समूहमा विभाजन गरी मस्यौदा विधान र प्रतिवेदनमाथि छलफल चलाएको थियो। तर उमेर हदको विषयमा सहमति जुट्न नसकेपछि विवाद झन् चर्कियो। असोज १३ गतेको बन्दसत्रपछि केन्द्रीय समिति र माओवादी पदाधिकारीबीचको बैठकले निर्वाचन प्रक्रियाबाट उमेर हद विवाद टुंग्याउने निर्देशन दिएको थियो। यो निर्देशनले पनि विवादलाई समाधान गर्न नसक्दा बन्दसत्र नै विभाजित भएको थियो।

सम्मेलन स्थगन
सम्मेलनमा अत्यधिक वर्षा, बाढीपहिरो र व्यवस्थापकीय समस्याका कारण अन्योल थपिएको थियो। अन्ततः असोज १३ गतेको बन्दसत्रमा उत्पन्न विवाद र माओवादी अध्यक्ष प्रचण्डको निर्देशनपछि सम्मेलन अनिश्चितकालका लागि स्थगित गरियो। क्रान्तिकारी संगठनका पदाधिकारीहरू र विद्यार्थी नेताहरूले रातभर छलफल गरे पनि सहमति हुन नसक्दा नयाँ नेतृत्व चयन गर्न सकेनन्।

पार्टी नेतृत्वले प्राविधिक समस्या र व्यवस्थापकीय कमजोरीका कारण सम्मेलन स्थगित गरिएको तर्क गरेको छ। तर, संगठनको एक पक्षले माओवादी नेता जनार्दन शर्मा पक्षको बलियो पकड रहेको कारणले नियोजित ढंगले सम्मेलन स्थगित गरिएको आरोप लगाएको छ।

प्रचण्डको प्रतिबद्धता
पार्टी अध्यक्ष प्रचण्डले सम्मेलन स्थगनपछि अध्यक्षमण्डललाई आफ्नो निवास खुमलटारमा बोलाएर सम्मेलन विधिसम्मत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए। उनको स्वकीय सचिव रमेश मल्लले जारी गरेको विज्ञप्तिमा प्रचण्डले यो प्रक्रिया व्यवस्थित रूपमा अघि बढाएर सफलतापूर्वक सम्पन्न गर्ने उल्लेख गरेका छन्।

दसैं–तिहारपछि विधान र प्रतिवेदनमाथि पुनः छलफल गरी नेतृत्व चयनको प्रक्रिया अघि बढाइने सहमति बनेको छ। तर, उमेर हदबन्दीको विवादले क्रान्तिकारी संगठनमा गहिरो ध्रुवीकरण ल्याएको छ, जसले संगठनको भविष्यलाई अन्योलमा पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट