आईसीसीको मान्यता पाएपछि एनपीएलमा नियम कडा गरिदै
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनका नियमहरू कडा बनाइने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएल सञ्चालनका लागि आईसीसीको उच्च मापदण्ड अपनाइने जानकारी दिए।
फ्रेन्चाइज क्रिकेटमा हुन सक्ने म्याच फिक्सिङ र स्पट फिक्सिङ जस्ता अनियमितता रोक्न आईसीसीको एन्टी–करप्सन युनिट (एसीयू) को आचारसंहिता र नेपालको कानुन कडाइका साथ लागू गरिने खड्काले बताए।
नयाँ नियमानुसार एनपीएल सुरु हुनुभन्दा अघिल्लो ६ महिनाको अवधिमा आईसीसी वा सम्बन्धित क्रिकेट बोर्डबाट स्वीकृति नलिएका गैरकानुनी प्रतियोगिता खेलेका खेलाडीहरू एनपीएलका लागि अयोग्य हुनेछन्। साथै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले समेत एनपीएल खेल्न आ-आफ्नो देशको क्रिकेट बोर्डबाट अनिवार्य रूपमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ।
यसपटक प्रत्येक फ्रेन्चाइज टोलीले ६ देखि ८ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् भने प्लेइङ–११ मा अनिवार्य रूपमा ७ नेपाली र ४ विदेशी खेलाडी समावेश गर्नुपर्नेछ। एनपीएलमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको र सोबारे सोमबारसम्ममा औपचारिक निर्णय सार्वजनिक गरिने सचिव खड्काले बताएका छन् ।
यसैबीच, क्यानले आगामी नोभेम्बर १९ देखि २१ (मंसिर ४ देखि ६) सम्म काठमाडौँमा ‘आईसीसी एसिया सम्मेलन’ आयोजना गर्ने भएको छ। सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट सङ्घका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको सहभागिता रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस