सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादर जाहेरी फिर्ताका लागि पत्राचार

दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद तथा एकीकृत समाजवादीका सचेतक एवं उपमहासचिव मेटमणि चौधरी विरुद्ध परेको चेक अनादरको जाहेरी फिर्ताका लागि पत्राचार गरिएको छ । आइतबार रोल्पा घर भई दाङको घोराहीमा बस्दै आएका निर्माण व्यवसायी धात बुढा मगर ले जाहेरी फिर्ता लिन चाहेको बेहोराको पत्र जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिएका छन् ।
बुधबार मगरले ५ करोड ४० लाख रुपैयाँको चेक अनादरसम्बन्धी जाहेरी हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएका थिए । यद्यपि, प्रहरीले मगरलाई जाहेरीको सनाखतका लागि पटकपटक बोलाए पनि उनी उपस्थित नभएकाले जाहेरी दर्ता हुन सकेको थिएन ।
एसपी तिमिल्सिनाका अनुसार, "त्यो उजुरी पठाउने व्यक्ति उहाँ नै हो कि हैन वा अरू कसैले पठाइ दिएको हो भन्ने कुराको सनाखत गर्न बोलाउँदा पनि उहाँ यो बीचमा आउनुभएन, त्यसैले दर्ता भएको थिएन ।" उनले हुलाकबाट आएको पत्र सम्बन्धित व्यक्तिले सनाखत नगरेसम्म दर्ता गर्न नमिल्ने स्पष्ट पारे ।
हुलाकमार्फत् आएको उजुरीमा हप्ता दिनभित्र पीडित भनिएका व्यक्ति स्वयं प्रहरी कार्यालय पुगेर मेटमणि चौधरीविरुद्धको चेक अनादरसम्बन्धी उजुरी फिर्ता लिन पत्राचार गर्नुपर्ने व्यवस्था छ । एसपी तिमिल्सिनाले भने, "अझैं पनि सम्बन्धित व्यक्ति आएर सनाखत गरे जाहेरी दर्ता गर्न मिल्छ । यदि उहाँ आउनु नै भएन भने त प्रहरीले पनि केही गर्न सक्दैन ।"
उनले यदि कुनै दबाब वा प्रभावका कारण प्रहरीमा गई उजुरी गर्न नसक्ने अवस्था भए पीडितले हुलाकमार्फत जाहेरी पठाउन सक्ने र त्यस्तो कुनै समस्या भए प्रहरीसँग निर्धक्क राख्न पनि आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस