एमालेको पोलिटब्युरो बैठक आज, उमेर सीमा र कार्यकाल हटाउने प्रस्तावमाथि छलफल हुने

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा पार्टीको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि विस्तृत छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
यसअघि हिजो अबेरसम्म बसेको सचिवालय बैठकमा ७० वर्षे उमेर सीमा र अधिकतम २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पास गरिएको थियो । सो प्रस्तावलाई आजको पोलिटब्युरो बैठकमा औपचारिक रूपमा छलफल गरिने भएको हो ।
पार्टीको विधानमा हालसम्म एक व्यक्तिले अधिकतम दुई कार्यकाल मात्रै नेतृत्व गर्न सक्ने व्यवस्था छ भने ७० वर्ष उमेर पुगेपछि पदाधिकारी बन्न नपाइने प्रावधान छ। तर, नयाँ संशोधनले यी दुवै प्रावधान हटाउने तयारी भइरहेको छ।
त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय केन्द्रीय पदाधिकारीको संरचना प्रस्ताव गरिएको थियो। तर, छलफलका क्रममा नेताहरूबीच १५ सदस्यीय पदाधिकारी बनाउने विषयमा सहमति जुटेको सचिव भट्टराईले बताएका छन्।
आजको बैठकले विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिने र त्यसपछि महाधिवेशनमा लैजाने तयारी एमालेले गरेको छ। यस संशोधन प्रस्तावलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको दीर्घकालीन नेतृत्व सुनिश्चित गर्ने प्रयासको रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस