दलको नेताका लागि बहुमत खोज्दै शेखर कोइराला, याक एण्ड यतिमा छलफल शुरु

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतृत्व परिवर्तनको सम्भावनाबारे छलफल गर्न आफूनिकटका सांसदहरूलाई डाकेका छन्।
अहिले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बसेको बैठकमा कोइराला समूहका सांसदहरू सहभागी छन्। संस्थापनइतर समूहका एक नेताले बैठकको पुष्टि गर्दै हाल छलफल जारी रहेको जानकारी दिएका छन्।
पार्टीभित्र संसदीय दलको नेतृत्वलाई लिएर चर्किँदो बहसबीच कोइरालाले बहुमत जुटाएर दलको नेता बन्ने रणनीति बनाएका छन्। बालकृष्ण खाँण समूहको समर्थन पाएसँगै उनी अझ सक्रिय भएको बताइएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई पराजित गरेर वर्तमानमा संसदीय दलको नेतृत्व गरिरहेका छन् । उनी केपी शर्मा ओलीपछि एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
तर त्यसअगाडि नै बहुमत जुटाएर शेखरले दलको नेता बन्न चाहेका छन् । कांग्रेसमा प्रधानमन्त्री बन्ने अवसर आए संसदीय दलको नेता भएकै हुनुपर्ने व्यवस्था छ ।
संसदीय दलको नेताका रूपमा स्थापित हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार, प्रधानमन्त्री बन्ने बाटो दलको नेताबाट सुरु हुन्छ । त्यसैले शेखर पक्ष आन्तरिक बहुमत सुनिश्चित गर्न गृहकार्यमा जुटेको हो ।
यसैबीच, कोइरालाले पार्टीबाहिरका शीर्ष नेताहरूसँग समेत भेटघाटलाई तीव्र बनाएका छन् । उनले हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भेटमा सहभागी कोइराला निकट नेताहरूका अनुसार अब ओलीपछि प्रधानमन्त्रीको दौडमा शेखर कोइराला प्रमुख उम्मेदवार हुने ठानिएको छ । पछिल्लो गतिविधिले कांग्रेसको नेतृत्व र सत्ता समीकरणमा ठूलो फेरबदलको संकेत देखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस