Techie IT
२०८३ भाद्र ३०, मंगलबार

एआई विकास सुस्त गर्ने सहमति पछि एसियाली बजारमा प्रविधि सेयरमा भारी गिरावट


विश्वका उन्नत कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गरिरहेका कम्पनीका प्रमुखहरूले मानवजातिमाथि पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै एआई विकासको गति केही सुस्त बनाउनुपर्ने चेतावनी दिएका छन्। यस किसिमको चेतावनीयुक्त अभिव्यक्ति बाहिरिएसँगै सोमबार एसियाली बजारमा एआईसँग सम्बन्धित कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।

एन्थ्रोपिकका मुख्य कार्यकारी अधिकृत (सीइओ) डारियो अमोदेईले एआईको दुरुपयोगबाट हुन सक्ने गम्भीर जोखिमका कारण क्षमता विस्तार गर्ने गतिलाई ढिलो बनाउनुपर्ने बताएका छन्। उक्त भनाइप्रति स्पेसएक्स तथा एक्सका प्रमुख इलोन मस्क र ओपनएआईका प्रमुख स्याम अल्टम्यानले पनि ऐक्यबद्धता जनाएका छन्। सुरक्षासम्बन्धी बढ्दो चिन्तालाई कारण देखाउँदै अल्टम्यानले ओपनएआईले यस वर्ष प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) समेत नगर्ने घोषणा गरेका छन्।

शीर्ष तहबाटै एआई विकासमा पुनर्विचार गर्नुपर्ने दबाब परेपछि एसियाली सेयर बजारमा भारी गिरावट आएको छ ।

जापानमा बहुराष्ट्रिय लगानी कम्पनी सफ्ट बैंकको सेयर मूल्य १३.२ प्रतिशतसम्म घटेको छ भने चिप निर्माता किओक्सिया र टोकियो इलेक्ट्रोनका सेयरमा पनि ठूलो गिरावट आएको छ। ताइवानको टीएसएमसीको सेयर १.२ प्रतिशतले घट्दा दक्षिण कोरियाको एसके हाइनिक्सको ५.३ र सामसङको सेयर मूल्यमा ३.७ प्रतिशतले ह्रास आएको छ।

सांघाई र हङकङका सेयर बजारमा पनि प्रविधि तथा एआईसँग जोडिएका कम्पनीहरूको मूल्य ओरालो लागेको छ।

सोनी फाइनान्सियल ग्रुपका विज्ञ ताकायुकी मियाजिमाका अनुसार सप्ताहान्तमा आएका यी अभिव्यक्तिले प्रविधि कम्पनीहरूको सेयरमा दबाब सिर्जना गरेको हो। यसबाहेक, पश्चिम एसियामा जारी तनावले पनि लगानीकर्ताको मनोबल कमजोर बनाएको उनको भनाइ छ।

यसैबीच, एन्थ्रोपिकले केही प्रयोगकर्ताहरूले आफ्नो ‘क्लाउड एआई’ मोडलको दुरुपयोग गर्दै हतियार निर्माण, साइबर आक्रमण, जासुसी तथा ठगीजस्ता अवैध गतिविधिमा प्रयोग गरेको बारे चिन्ताजनक प्रतिवेदन सार्वजनिक गरेको छ। कम्पनीका पूर्वअनुसन्धानकर्ता ज्याकोब कक्सनले यसै दशकको अन्त्यअघि एआईले मानवजातिको अस्तित्व नै समाप्त पार्न सक्ने जोखिम औंल्याउँदै पदबाट राजीनामा समेत दिएका थिए। ओपनएआईका प्रमुख अल्टम्यानले पनि एआईबाट मानव अस्तित्वमा खतरा उत्पन्न हुन सक्ने सम्भावनालाई स्वीकार गरेका छन्।

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआईका आलोचकहरूलाई ‘नकारात्मक सोच’ भएका व्यक्तिहरूको संज्ञा दिएका छन्। उनीहरूले कहिल्यै नहुने काल्पनिक घटनाबारे अनावश्यक चेतावनी मात्रै दिइरहेको बताउँदै ट्रम्पले अमेरिकालाई एआई प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी राष्ट्र बनाइराख्ने आफ्नो प्रतिबद्धा दोहोर्‍याएका छन्।

प्रविधिको तीव्र विकास र सुरक्षासम्बन्धी यी जल्दोबल्दो मुद्दाहरूमाथि छलफल गर्न यसै महिना अमेरिकी र चिनियाँ सरकारबीच उच्चस्तरीय एआई सुरक्षा वार्तापनि हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट