मेडिकलमा आतंक मच्चाएर रकम असुली गर्ने नक्कली प्रहरी पक्राउ
प्रहरीको परिचय दिएर डरत्रास र धाकधम्की देखाउँदै रकम असुली गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-२, बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सञ्जय बिसुंखे रहेका छन्।
चन्द्रागिरि नगरपालिका-७, थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा गत बिहीबार साँझ उनीहरू प्रवेश गरेका थिए। आफूहरू सादा पोसाकमा खटिएको प्रहरी र मेडिकल अनुगमन टोली भएको भन्दै उनीहरूले क्लिनिक सञ्चालकलाई धम्क्याएका थिए। साथै, औषधी पसलको काउन्टरबाट जबरजस्ती नगद लुटेर भागेका थिए।
उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेकाहरूमाथि 'आपराधिक लाभ (एक्सटर्सन) तथा ठगी' सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिई हाल प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस