Techie IT
२०८३ श्रावण ३, आइतबार

विश्वकप फाइनलको टिकट मूल्य ३० करोड रुपैयाँ, ३९ वर्षे मेसी र १९ वर्षे यमालबीच ऐतिहासिक भिडन्त हुदै

यो ऐतिहासिक महाभिडन्तलाई विश्वभरका १ अर्बभन्दा बढी दर्शकले प्रत्यक्ष नियाल्ने अनुमान


अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ (न्युयोर्क न्युजर्सी) स्टेडियममा आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको टिकट मूल्यले खेलकुद इतिहासकै अहिलेसम्मका सबै रेकर्डहरू तोडेको छ। साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीचको यस महाभिडन्तको ब्ल्याक मार्केट तथा रिसेल बजारमा प्रतिटिकट मूल्य अधिकतम २३ लाख अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँ) सम्म पुगेको छ।

यस ऐतिहासिक उपाधि भिडन्तमा विश्व फुटबलका महान् खेलाडी (GOAT) लियोनेल मेसी र स्पेनका उदीयमान युवा स्टार लामिन यमाल आमनेसामने हुँदैछन्। यही बहुप्रतीक्षित प्रतिस्पर्धाका कारण समर्थकमाझ टिकटको माग अकल्पनीय रूपमा बढेको हो।

टिकटको मूल्यमा नयाँ कीर्तिमान
शुक्रबारसम्म फिफाको मुख्य पोर्टलमा रहेका अधिकांश टिकटहरू ३२ हजार डलरसम्ममा बिक्री भइसकेका थिए। तर, खेल सुरु हुन २४ घण्टाभन्दा कम समय बाँकी रहँदा आधिकारिक रिसेल प्लेटफर्ममा टिकटको न्यूनतम मूल्य १० हजार डलर (करिब १३ लाख रुपैयाँ) देखि सुरु भएर २३ लाख डलरसम्म सूचीकृत भएको छ। सुरुवाती चरणमा मेक्सिकोमा महँगो टिकट नीतिको आलोचना भए पनि विश्वकपको लोकप्रियताका कारण समर्थकहरू जति पनि मूल्य तिर्न तयार देखिएका छन्। फिफाका अनुसार यस संस्करणका आधाभन्दा बढी खेल शतप्रतिशत र बाँकी खेल ९९.७ प्रतिशत दर्शक क्षमतामा सञ्चालन भएका छन्।

६० वर्षपछि पहिलो पटक दक्षिण अमेरिका र युरोपका च्याम्पियनहरू विश्वकपको फाइनलमा भिड्न लागेका हुन्। फाइनल यात्रा तय गर्ने क्रममा स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले र अर्जेन्टिनाले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेका थिए। यो खेल प्रतियोगिताकै उत्कृष्ट आक्रमण (अर्जेन्टिना, १९ गोल) र उत्कृष्ट रक्षापङ्क्ति (स्पेन, मात्र १ गोल बेहोरेको) बीचको टक्कर समेत हो।

मेसी भर्सेज यमाल
यस फाइनलको सबैभन्दा रोचक पक्ष ३९ वर्षीय लियोनेल मेसी र १९ वर्षीय लामिन यमालबीचको पुस्ताको लडाइँका रुपमा पनि लिइएको छ । १९ वर्षकै उमेरमा युरो कप जितिसकेका र बार्सामा मेसीकै स्थान लिइरहेका यमाल र मेसीबीच एक अनौठो संयोग छ। यमाल सानो बच्चा छँदा उनको परिवारले युनिसेफको चिट्ठा जितेर बार्सिलोनाका खेलाडीसँग फोटोसेसन गर्ने मौका पाएको थियो, जहाँ युवा मेसीले बच्चा यमाललाई नुहाइदिँदै गरेको तस्बिर खिचिएको थियो। सो तस्बिरलाई फोटोग्राफरले 'भाग्यको साँचो चमत्कार' भनेका छन्।

न्युयोर्कमा आयोजित फ्यानटिक्स फेस्टमा अमेरिकी फुटबल लेजेन्ड टम बार्डीसँग कुरा गर्दै मेसीले भने, “म सानो हुँदा यमालसँग खिचिएको तस्बिर र आज हामी विश्वकपको फाइनलमा आमनेसामने हुनु साच्चै पागलपन जस्तै हो। उनी अहिले विश्वकै उत्कृष्ट खेलाडी हुन्।”

यो ऐतिहासिक महाभिडन्तलाई विश्वभरका १ अर्बभन्दा बढी दर्शकले प्रत्यक्ष नियाल्ने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट