Techie IT
२०८३ असोज २७, मंगलबार

क्यानले दियो कप्तान रोहितलाई धन्यवाद


नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई कप्तानी कार्यकालमा पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै बिदाइ गरेको छ। क्यानले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै रोहितको नेतृत्वमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको र ती क्षणहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवको रूपमा रहने उल्लेख गरेको छ।

“नेपाल र नेपाली क्रिकेट प्रशंसकको आशालाई बोकेर लगनशीलता, समर्पण र दृढ सङ्कल्पका साथ टोलीको नेतृत्व गर्नुभएकोमा धन्यवाद,” क्यानले भनेको छ, “देश, टोली र खेलप्रतिको तपाईंको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको छ।” क्यानले कप्तानीको जिम्मेवारीबाट अलग भए पनि रोहितले आगामी दिनमा उही भावना, गर्व र समर्पणका साथ नेपाली टोलीको प्रतिनिधित्व जारी राख्ने विश्वास व्यक्त गरेको छ। साथै क्यानले रोहितको योगदानको उच्च सम्मान गर्दै ‘एकपटकको नेता, सधैँको नेता’ हुने उल्लेख गरेको छ।

क्यानले रोहितको स्थानमा लेगस्पिनर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको नयाँ एकदिवसीय कप्तानमा चयन गरेको छ। सन्दीपको नेतृत्वमा नेपालले आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ।

हालै नेदरल्याण्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक नभएपछि क्यानले नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो। 

यस निर्णयसँगै रोहितले एकदिवसीय (ODI) र टी–२० दुवैको कप्तानी गुमाएका छन्। यसअघि नै क्यानले टी–२० टोलीको कप्तानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारी दिइसकेको छ। सन् २०२२ मा विभिन्न कानुनी विवादका कारण कप्तानी गुमाएका सन्दीप चार वर्षको अन्तरालपछि पुनः राष्ट्रिय टोलीको कप्तानका रूपमा पुनरागमन गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट