१३ सदस्यीय उसु टोली बंगलादेश प्रस्थान गर्दै
प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्समा भाग लिन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली उसु टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ। अक्टोबर १ देखि ४ सम्म हुने प्रतियोगितामा नेपाली खेलाडीहरूले सान्सौ र थाउलो विधामा प्रतिस्पर्धा गर्नेछन्।
टोलीमा मनिराज राई, सुमाङ्गी राज्यलक्ष्मी गौतम, अनिता तामाङ, सौगात चन्द, निश्चल तामाङ, ममता सुनुवार, प्रार्थना नेपाल, रुफस केसी, र विराज सुनार खेलाडीका रूपमा सहभागी छन्। प्रशिक्षकको भूमिकामा राजीव महर्जन र राज महर्जन, सहायक प्रशिक्षक सुवास परियार, र व्यवस्थापक सुकमान लामा रहेका छन्।
सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उसु टोलीलाई बिदाइ गरेका थिए। सोही प्रतियोगितामा भाग लिन तेक्वान्दो टोली भने सोमबार नै ढाका प्रस्थान गरेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस