दैजी–जोगबुढा सडक निर्माण प्रदेश सरकारको उच्च प्राथमिकतामा: मुख्यमन्त्री भट्ट
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सामरिक महत्त्वको दैजी–जोगबुढा सडक निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखिसकेकोबारे स्पष्ट पारेका छन् ।
डडेल्धुरा उद्योग वाणिज्य संघसँगको अन्तरक्रिया तथा छलफलका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको सीमित र छोटो कार्यकाललाई समेत नागरिकले सम्झिने गरी परिणाममुखी काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग वाणिज्य संघले उठाएका विकास निर्माण, उद्योग, व्यापार तथा जिल्लाको समग्र समृद्धिसँग जोडिएका मागहरू अत्यन्तै सान्दर्भिक रहेको भन्दै उहाँले ती विषयहरू सरकारको कार्ययोजनामा गम्भीरताका साथ समेटिने बताएका छन्।
सुदूरपश्चिम प्रदेशलाई देशकै “सुशासनको केन्द्र” का रूपमा स्थापित गर्ने अङ्गीकारसहित सरकार अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन प्रशासनिक संरचनामा आवश्यक सुधार गरिने जानकारी दिए।
प्रदेशको दिगो आर्थिक तथा भौतिक विकासका लागि निजी क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै उनले उद्योगी तथा व्यवसायीका समस्याहरू समाधान गर्न प्रदेश सरकार सधैं सकारात्मक रहेको स्पष्ट पारेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस