ट्रम्प–पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आगामी अगस्ट १५ मा अलास्कामा भेट गर्ने भएका छन्।
ट्रम्पले शुक्रबार राति सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त बैठकबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्। उनले यसअघि नै युक्रेन युद्ध अन्त्यका विषयमा छलफल गर्न पुटिनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए।
यसअघि बुधबार, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले रुसले ट्रम्पलाई भेट्ने इच्छा जनाएको र ट्रम्प पुटिन तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैसँग भेट्न तयार रहेको जानकारी दिएकी थिइन्।
अमेरिका र रुसका राष्ट्रपतिबीच अन्तिमपटक २०२१ को जुनमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच जेनेभामा भेट भएको थियो।
ट्रम्पका विशेष दूत स्टिभ विटकफले बुधबार पुटिनसँग भेट गरेका थिए। ट्रम्पले उक्त भेटलाई ‘महत्वपूर्ण’ भनेका छन्। रुसको क्रेमलिनका राष्ट्रपति सल्लाहकार युरी उशाकोभका अनुसार उक्त भेटमा युक्रेन सम्बन्धी मुद्दामा छलफल भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस