पाइलटमाथिको आक्रमण पुष्टि भए इरानले अकल्पनीय मूल्य चुकाउनुपर्छः राष्ट्रपति ट्रम्प
दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरानको संलग्नता पुष्टि भए “अत्यन्त कडा परिणाम” भोग्नुपर्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले घटनाको गहिरो अनुसन्धान भइरहेको जानकारी दिए। दोषी पाइए इरानले त्यसको गम्भीर मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ।
के भएको थियो घटना ?
उडानका क्रममा सह–पाइलटले मुख्य पाइलट (कप्तान) माथि छुरा प्रहार गरेपछि विमानको नियन्त्रण लिन निकै सङ्घर्ष गर्नुपरेको थियो। आपत्कालीन अवस्था सिर्जना भएपछि साउदी अरेबियामा अवतरण गरिएको उक्त विमानका यात्रुहरूलाई पछि अर्को उडानमार्फत इजरायल पठाइएको छ। साउदी अरेबियाको प्रारम्भिक अनुसन्धानले सह–पाइलटले नै कप्तानमाथि आक्रमण गरेको पुष्टि गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणकारी सह–पाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित रहेको र विमान दुर्घटना गराउने गम्भीर षड्यन्त्र रचेको आरोप लगाएका छन्। संयुक्त अरब इमिरेट्स (युएई) का प्रमुख अभियोजकले पनि घटनामा आतङ्कवादी गतिविधि वा कुनै विशेष उद्देश्य जोडिए नजोडिएको बारे अनुसन्धान जारी रहेको बताएका छन्। साथै, ओमानका नागरिक रहेका ती सह–पाइलटलाई इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिक हुँदाहुँदै पनि इजरायलतर्फको उडानमा खटाइनुको कारणबारे समेत गहिरो छानबिन हुने नेतान्याहुले बताएका छन्।
भारतीय नागरिक तथा क्याप्टेन स्मिट मच्छरमाथि आक्रमण भएपछि सतर्क बनेका यात्रुहरूले नै साहस जुटाएर सह–पाइलटलाई नियन्त्रणमा लिएका थिए। फ्लाइटराडार २४ का अनुसार आक्रमणलगत्तै विमान एक मिनेटमै करिब १७ हजार फिट तल खसेको थियो।
घाइते क्याप्टेन मच्छरको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय दूतावासले जनाएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च साहसको प्रशंसा गरेका छन्। फ्लाईदुबईले ड्युटीमा रहेका अर्का चालकदलका सदस्यको सहयोगमा विमान सुरक्षित अवतरण गराइएको स्पष्ट पारेको छ। हाललाई सुरक्षा कारण देखाउँदै इजरायलतर्फका सम्पूर्ण उडानहरू स्थगित गरिएको एयरलाइन्सले जनाएको छ।
मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति बाक्लो बनिरहेका बेला राष्ट्रपति ट्रम्पको यो कडा चेतावनी बाहिर आएको छ। ‘एक्सियोस’ का अनुसार अमेरिकाले साउदी अरेबिया र कतारमा थप प्याट्रियट क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको छ भने ‘युएसएस थियोडोर रुजवेल्ट’ विमानवाहक पोतसहितको युद्धपोत समूह मध्यपूर्vतर्फ अग्रसर भइरहेको छ।
यसैबीच, ठूलो मानवीय क्षति टार्न र विमानलाई दुर्घटनाबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने पाँच जना इजरायली नागरिकलाई इजरायली राष्ट्रपति आइज्याक हर्जोगले विशेष सम्मान गर्ने घोषणा गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस