सीजेपी प्रदर्शनको राप मुम्बईसम्म: अभिनेता इमरान खानसहित ४ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ
कक्रोज जनता पार्टी (सीजेपी) ले दिल्लीमा आह्वान गरेको प्रदर्शनको समर्थनमा मुम्बईको अगस्ट क्रान्ति मैदानमा प्रदर्शन गरिरहेका बलिउड अभिनेता इमरान खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीसँगै प्रदर्शनमा सहभागी ४ सयभन्दा बढी नागरिकहरूलाई समेत मुम्बई प्रहरीले पक्राउ गरेको छ। प्रहरी नियन्त्रणमा पर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेता खानले आफू कुनै राजनीतिक माग वा संगठनको प्रतिनिधिको रूपमा नभई एक आम नागरिकका रूपमा उपस्थित भएको स्पष्ट पारेका थिए।
उनले नागरिकको आवतजावतको स्वतन्त्रतामाथि लगाइएका प्रतिबन्ध र जनताको आवाज दबाउने सरकारी कदममाथि प्रश्न उठाउन आफू प्रदर्शनस्थलमा आएको बताए। मुम्बई प्रहरीका अनुसार प्रदर्शनकारीहरूले औपचारिक अनुमति नलिई प्रदर्शन आयोजना गरेकाले नियन्त्रणमा लिइएको हो।
उता, सीजेपीका नेताहरूले भने प्रहरीलाई पत्र पठाइए पनि कुनै जवाफ नदिएको दाबी गरेका छन्। यसैबीच, दिल्ली र मुम्बईमा सीजेपीका संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरव दाससहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेपछि जलवायु अभियन्ता सोनम वाङचुकले कडा चेतावनी दिएका छन्।
आइतबार (११ अक्टोबर) सम्ममा पक्राउ परेका नेताहरूलाई बिनासर्त रिहा नगरिए आफू आमरण अनशन बस्ने वाङचुकले घोषणा गरेका छन्।मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावली पुनरावलोकन प्रक्रियामा भएको भनिएको अनियमितताको विरोधमा सीजेपीले भारतभर विरोध प्रदर्शन तीव्र बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस