गाजा कब्जा गर्ने नेतान्याहु योजनाको बिरोधमा हजारौं इजरायली सडकमा

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरेपछि इजरायली जनता सडकमा उत्रिएका छन्।
यो योजनाको विश्वभरका विभिन्न संगठनहरूले निन्दा गरेका छन् भने अब इजरायलभित्रै पनि दिनदिनै विरोध प्रर्दशन सुरु भएको छ। शनिबार साँझदेखि तेलअवीवसहित इजरायलका विभिन्न शहरमा हजारौं प्रदर्शनकारी भेला भई बन्धकहरूलाई सुरक्षित फिर्ता गर्ने र युद्धविराम सम्झौतामा पुग्ने मागसहित प्रदर्शन गरिरहेका छन्।
बन्धकका परिवारहरूले योजनाविरुद्ध आम हड्तालको आह्वान गर्दै यस कदमले आफ्ना प्रियजनहरूको जीवनमा खतरा बढ्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघले पनि गाजामा पूर्ण सैन्य कब्जाले त्यहाँका नागरिकहरूलाई हानि पु¥याउने र इजरायली बन्धकहरूका लागि ‘विनाशकारी परिणाम’ ल्याउने चेतावनी दिएको छ। इजरायलका लागि बेलायती राजदूतले यसलाई ‘ठूलो गल्ती’ भएको टिप्पणी गरेका छन्।
हालको विरोध र्याली पछिल्ला केही महिनामा भएको सबैभन्दा ठूलो आन्दोलनमध्ये एक हो। सेनाले पनि गाजा कब्जा गर्ने योजनाले कैदी र सैनिक दुवैलाई अनावश्यक खतरा पुर्याउने तथा मानवीय संकट अझ गहिरो बनाउने भन्दै आपत्ति जनाएको छ।
‘हाम्रा प्रियजनको बलिदान दिने सरकारको निर्णयप्रति हामी सचेत छौं,’ बन्धक तथा बेपत्ता परिवार फोरमले शनिबारको जुलुसअघि जारी विज्ञप्तिमा उल्लेख गरेको छ। ‘निर्णयकर्ताहरूले तत्काल बृहत् बन्धक सम्झौतामा पुग्न, युद्ध रोक्न र हाम्रा प्रियजनलाई फिर्ता ल्याउनुपर्ने समय सकिँदै गएको छ।’
तपाईको प्रतिक्रिया दिनुहोस