क्यानडाको विद्यालयमा भीषण गोलीकाण्ड: १० को मृत्यु, २५ घाइते, को हुन् आक्रमणकारी महिला ?
क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित टम्बलर रिज नगरपालिकाको एक माध्यमिक विद्यालयमा मंगलबार अन्धाधुन्ध गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम क्षेत्रमा पर्ने, रकी पर्वत शृंखलाको फेदीमा रहेको टम्बलर रिज नगरपालिकामा हाल हिउँ परिरहेको बताइएको छ। स्थानीय समयअनुसार मंगलबार अपराह्न विद्यालय परिसरभित्र गोली चलेको हो।
प्रहरीका अनुसार खैरो कपाल भएकी र खैरै रंगको पहिरनमा आएकी एक महिलाले विद्यालयभित्र अन्धाधुन्ध गोली चलाएकी थिइन्। रोयटर्सका अनुसार विद्यालयभित्रै छ जनाको शव फेला परेको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
विद्यालय नजिकैको एक भवनमा पनि दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ। ती व्यक्तिहरू पनि विद्यालयमै भएको गोलीकाण्डका पीडित भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले आक्रमणकारी महिलालाई घटनास्थलमै मृत अवस्थामा फेला पारेको जनाएको छ। प्रत्यक्षदर्शीले दिएको हुलियासँग मिल्ने महिलालाई मृत भेटिएको र उनी नै आक्रमणकारी भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ। रोयटर्सका अनुसार ती महिलाले गोली चलाएपछि आफैंलाई पनि गोली हानेकी थिइन्।
आक्रमणकारीको पहिचान खुलिसकेको भए पनि सार्वजनिक नगरिएको र घटनाको उद्देश्य अझै स्पष्ट नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
यसअघि पनि क्यानडामा ठूला गोलीकाण्डका घटना भएका छन्। सन् २०२० अप्रिलमा नोभा स्कोटिया प्रान्तमा प्रहरीको पोसाक लगाएका ५१ वर्षीय व्यक्तिले १३ घण्टासम्म गोली चलाउँदै २२ जनाको हत्या गरेका थिए। त्यसैगरी, सन् १९८९ डिसेम्बरमा मोन्ट्रियलस्थित इकोल पोलिटेक्निकमा भएको विद्यालय गोलीकाण्डमा १४ महिला विद्यार्थीको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस