एक महिनामा दुई ठूला विपद्: १४ सयभन्दा बढीको मृत्यु, जलविद्युत क्षेत्रमा ७४ अर्बको क्षति
पछिल्लो एक महिनाको अवधिमा मुलुकले दुई वटा ठूला प्राकृतिक विपद्को सामना गरेको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढी र असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षाका कारण देशले ठुलो मानवीय र भौतिक क्षति व्यहोरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा आएका दुई ठूला विपद्मा परेर अहिलेसम्म १४ सय २७ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९३ जना अझै हराइरहेका छन्।
विपद्का दुई घटना विवरण:
भोटेकोशी बाढी: भदौ १० गते ल्हेन्दे खोलाको बहाव अचानक बढेसँगै रसुवाको भोटेकोशी र त्रिशुलीमा आएको अप्रत्याशित बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ वटा स्थानीय निकाय प्रभावित भएका छन्। यस विपद्मा १३ सय ९९ जनाको मृत्यु भएको छ भने ४ हजार ८९ जना बेपत्ता छन्।
मृतकमध्ये १०३ जनाको शव पहिचान भई दाहसंस्कार गरिएको छ भने पहिचान हुन नसकेका १२ सय ३० वटा शव विधिपूर्वक व्यवस्थापन गरिएको छ। बेपत्ताहरूको खोजी, डीएनए परीक्षण र पहिचानका लागि प्रहरीको केन्द्रीय र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा ३ हजारभन्दा बढी नमुना परीक्षण भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले जानकारी दिएका छन्।
चारदिने भारी वर्षा: बंगालको खाडीमा उत्पन्न न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भयो। यसबाट ५१३ वटा विपद्का घटना घटेर १ हजार ६५ परिवार प्रभावित भएका छन्। प्राधिकरणकी प्रवक्ता (उपसचिव) शान्ति महतका अनुसार यस विपद्मा ४ जना बेपत्ता र ७ जना घाइते भएका छन्। जोखिमयुक्त क्षेत्रबाट २ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
बाढी र पहिरोका कारण ऊर्जा क्षेत्रमा गम्भीर असर परेको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भोटेकोशी बाढीले ४३० मेगावाट र पछिल्लो वर्षाले १९० मेगावाट गरी कुल ६२० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
माथिल्लो त्रिशुली ३बी २२० के.भी. हबमा पुगेको ठूलो क्षतिकै कारण प्राधिकरण र सहायक कम्पनीहरूमा मात्रै प्रारम्भिक अनुमानअनुसार करिब ७४ अर्ब रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन्। सडक र पहुँचमार्ग अवरुद्ध भएकाले मर्मतसम्भारमा कठिनाइ भए पनि प्रभावित क्षेत्रमा प्राविधिक टोली खटिएर यथासक्य छिटो विद्युत् सुचारu गराउने प्रयास जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस