इजरायली प्रधानमन्त्री नेतान्याले गरे यूएईको गोप्य भ्रमण
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेटवार्ता गरेका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनले एक इजरायली स्रोतलाई उद्धृत गर्दै यो दाबी गरेको हो ।
सीएनएनका अनुसार दुई नेताबीचको छलफल मुख्य रूपमा इरानसँग सम्बन्धित क्षेत्रीय सुरक्षा चुनौतीमा केन्द्रित थियो। यद्यपि, समाचार तयार पार्दासम्म नेतान्याहूको कार्यालय वा यूएईको नेतृत्वबाट यस भ्रमणको औपचारिक पुष्टि भने गरिएको छैन।
यसअघि पनि नेतान्याहूले यूएईको गोप्य भ्रमण गरेको रिपोर्ट बाहिरिएका थिए। त्यतिबेला यूएईले त्यस्तो घोषणा नगरिएको भ्रमणसम्बन्धी दाबीलाई आधारहीन भन्दै खारेज गरेको थियो।
पश्चिम एसियामा गम्भीर तनाव कायम रहेको बेला यो पछिल्लो भ्रमण बाहिर आएको छ। हालै संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहूले इरानको वर्तमान शासन ढल्ने दाबी गरेका थिए। उनले इरानविरुद्ध इजरायलले चालेको सैन्य कदम आफ्ना लागि अपरिहार्य रहेको तर्क समेत राखेका थिए।
यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यूएईसहित कुनै पनि क्षेत्रीय छिमेकी देशहरूसँग इरानको कुनै समस्या नरहेको बताएका छन्। तर, उनले अमेरिकी सैन्य अड्डा प्रयोग गरेर इरानमाथि आक्रमण भइरहेको आरोप लगाउँदै त्यसरी क्षेत्रीय भूमिमा विदेशी सैन्य अड्डा रहनुप्रति कडा आपत्ति जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस