असोज ८ गतेदेखिको विपद्का कारण २७ जनाको मृत्यु, ११ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द
असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङबाट देशभर २७ जनाको मृत्यु भएको छ भने विपद्मा परी ७ जना घाइते र ४ जना सम्पर्कविहीन रहेका छन्।
गृह मन्त्रालयका अनुसार यस अवधिमा देशभर ५१३ वटा मनसुनजन्य घटना घटेका छन्, जसबाट १ हजार ६५ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो। तीमध्ये १२५ स्थानमा मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ भने बाँकी स्थानमा पनि मर्मतकार्य तीब्र पारिएको छ।
विद्युत् र दूरसञ्चार सेवामा ठूलो असर
बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी तथा सेती–मादी कोरिडोरलगायत राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको थियो। त्यसमध्ये हालसम्म सेती–मादी कोरिडोरका २६२ मेगावाट र मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्रहरू मात्र सञ्चालनमा आएका छन्। अन्य क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत भइरहेको छ।
त्यस्तै, बाढीपहिरोबाट अवरुद्ध बनेको दूरसञ्चार सेवा पनि क्रमशः सुचारु गरिएको छ। नेपाल टेलिकमका १ हजार १३२ वटा टावर र एनसेलका १६२ वटा नेटवर्क विच्छेद भएकामा क्रमशः ७८२ र १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ।
सरकारले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थानीय तहको समन्वयमा राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइरहेको जनाएको छ। साथै, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमार्फत जनजीवनलाई छिटोभन्दा छिटो सामान्य बनाउने कामलाई प्राथमिकता दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस