त्रिविका सम्पर्कविहीन शिक्षक–कर्मचारीबाट १६ करोडभन्दा बढी असुल
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नियमानुसार सेवामा नफर्किएका तथा फर्किएर पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक र कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन महाशाखाका अनुसार ७५ वटा मामिलाबाट सो रकम उठाइएको हो। विश्वविद्यालयले अध्ययन बिदापछि सेवामा नफर्किएका वा अवधि नपुर्याएका कर्मचारीबाट, उपलब्ध गराइएको तलब, भत्ता तथा अन्य सुविधामा नियमअनुसारको हर्जाना जोडेर असुल गर्ने प्रक्रिया अघि बढाएको छ।
हाल थप विवरणको हिसाबकिताब तथा अभिलेख खोजी गर्ने काम भइरहेको छ। प्राप्त विवरणअनुसार हालसम्मको हिसाब भएका अवस्थामै करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ। सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका वैयक्तिक अभिलेख अध्ययन गरी रकम असुल गर्ने प्रक्रिया निरन्तर जारी छ।
पुस मसान्तसम्मको अल्टीमेटम
त्रिविले नियमविपरीत सम्पर्कविहीन रहेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा अनिवार्य सम्पर्क गर्न आग्रह गरेको छ। तोकिएको समयावधिभित्र सम्पर्कमा नआएमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र प्रचलित नियमअनुसार कडा कानुनी कारबाही अघाइने चेतावनी त्रिवि, रजिष्ट्रारको कार्यालयले स्पष्ट पारेको छ।
सम्पर्कका लागि विश्वविद्यालयले आधिकारिक इमेल ठेगाना studyleave@tu.edu.np समेत सञ्चालनमा ल्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस