इरान टुक्र्याउने र तेल नियन्त्रण गर्ने अमेरिकी योजना रहेको छ - विश्लेषक
तेहरान विश्वविद्यालयका एक राजनीतिक विश्लेषकले अमेरिका र उसका सहयोगीहरूले इरानको तेल स्रोत नियन्त्रण गर्ने तथा देशलाई टुक्र्याउने रणनीति अन्तर्गत आक्रमण गरेको आरोप लगाएका छन्।
तेहरान विश्वविद्यालयको फ्याकल्टी अफ वर्ल्ड स्टडीजका विश्लेषक फोआद इजादीले अलजजिरासँग कुरा गर्दै अहिले भइरहेको युद्धको मुख्य कारण इरानको तेल स्रोतमा नियन्त्रण र क्षेत्रीय शक्ति सन्तुलन पुनःनिर्माण रहेको धेरै इरानी नागरिकको विश्वास रहेको बताएका छन्।
इजादीका अनुसार अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अभिव्यक्तिले पनि इरानीहरूको लामो समयदेखिको शंका पुष्टि गरेको छ।
उनले भने, “सिनेटर ग्राहमले ‘ट्रम्प इरानको तेल चाहन्छन्’ भनेको सुन्दा हामीलाई अचम्म लागेन। धेरै वर्षदेखि इरानीहरूले यही कुरा भन्दै आएका छन्।”
अमेरिकाको रणनीतिलाई पुरानो साम्राज्यवादी नीतिसँग तुलना गर्दै इजादीले वासिङ्टनले पर्सियन खाडी क्षेत्रमा १९औँ शताब्दीमा ब्रिटेनले जस्तै प्रभुत्व जमाउन खोजेको आरोप पनि लगाए।
उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धपछि इरानको सीमामा परिवर्तन हुन सक्ने संकेत दिएको भनाइले पनि इरानभित्र आशंका बढाएको छ।
इजादीले भने, “धेरै इरानीहरूको धारणा के छ भने ट्रम्पले तेलसम्पन्न दक्षिणी इरानलाई अलग पारेर देशलाई टुक्र्याउने, अर्थात् ‘बाल्कनाइज’ गर्ने योजना बनाएका छन्।”
उनका अनुसार यस्तो योजना सफल भएमा दक्षिणी इरानमा नयाँ राज्य स्थापना गरी त्यसमार्फत तेल स्रोत नियन्त्रण गर्न सकिने, चीनमाथि दबाब बढाउन सकिने तथा मध्यपूर्वमा इजरायलको प्रभाव विस्तार गर्ने रणनीति हुन सक्ने विश्वास इरानमा फैलिएको छ।
तर, यस्तो योजना सफल नहुने दाबी गर्दै इजादीले इरानी समाज र राज्य संरचना अपेक्षाभन्दा धेरै बलियो रहेको पनि बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस